भद्रपुरबाट काजीमानको विदाई, श्रेष्ठको स्वागत


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , १२ 17:42:18

33210-20180326174218.jpg

भद्रपुर । नेपालकै पुरानो नगरपालिका भद्रपुर नगरपालिकामा कार्यकारी अधिकृत तथा हाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा झण्डै डेढ वर्ष लामो सेवा पुर्याई सरुवा भएका काजीमान राईलाई  नगरपालिकाले सोमबार सम्मानसहित विदाइ गरेको छ ।

राई पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिम नगरपालिकाबाट २०७३ कात्तिक ४ गते भद्रपुर नगरपालिकामा सरुवा भई आएका थिए ।

नगरपालिकाले राईको विदाइसँगै स्थानीय विकास अधिकारीको रुपमा सुनसरी जिल्ला समन्वय समितिमा कार्यरत रही भद्रपुर नगरपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत उपसचिव तुलसीबहादुर श्रेष्ठलाई पनि हार्दिकतापूर्वक स्वागत गरेको छ ।

नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित एक समारोहका बीच भद्रपुर नगरपालिकाबाट सरुवा भई मोरङको इटहरा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न जान लागेका राईलाई विदाइ गरिएको हो । 

नगरपालिकाका सामाजिक शाखाका राजन न्यौपानेले सञ्चालन र नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठले स्वागत गरेको ‘स्वागत, विदाइ तथा परिचयात्मक’ समारोहमा नगरपालिकामा निर्वाचित जनप्रतिनिधि, कर्मचारी, विषयगत कार्यालय शाखा प्रमुख एवम् नागरिक समाजका अगुवाहरुको बृहत सहभागितामा थियो । 

भद्रपुरबाट विदाइ हुने प्रमुख प्रशासकीय अधिकृत राईलाई नेपाली टोपी पहिर्याई, अविर–मालासहित मायाको चिनो हस्तान्तरण गर्दै विदाई गरियो भने नयाँ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई त्यसैगरी स्वागत गरियो । 

विदाइ भई गएका राईले भद्रपुरमा रहँदा आफूले जनप्रतिनिधिहरु, कर्मचारी तथा नगरबासीले आफूलाई यथेष्ठ सहयोग पुर्याएको बताए । 

प्रतिकृया दिनुहोस