‘सुवर्णलता’ माथि वृहङ्गम बहस


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , १० 19:57:14

33159-20180324195714.jpg

काठमाडौ । साहित्यकारहरुले नेपाली साहित्यमा पाठकको ध्यान एकाग्र गर्ने कृतिको खडेरी कायमै रहेको जिकिर गरेका छन् । 

साहित्यकार मालिका केसरीको उपन्यास ‘सुवर्णलता’ बारे राजधानीमा शनिबार भएको अन्तरसम्वाद कार्यक्रममा बोल्ने लेखक तथा साहित्यकारहरुले साहित्य पढ्ने पाठक घट्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरे ।

साहित्यकार केसरीको उपन्यास सुवर्णलताले पाठकको ध्यान आकर्षण गर्ने विश्वास उनीहरुको छ । उपन्यासकार अमर न्यौपानेले उपन्यासको भावपक्ष शसक्त भएपनि उपन्यास लामो भएको तर्क गरे । 

उनले भने, ‘उपन्यासको भाव उच्च भएपनि धेरै विषयबस्तु छुएकाले उपन्यास अलिक लामो भएको छ । जसका कारण पाठकलाई केही समय अलमलजस्तो अनुभूति भएपनि आखिरमा पाठकको मन तानिरहन यो सफल हुनेछ ।’

साहित्यकार डा. रामप्रसाद ज्ञवालीले उपन्यास सुवर्णलतामा पाठकको ध्यान सुरुदेखि अन्त्यसम्म तान्ने तागत रहेको बताए । सुवर्णलताभित्र माया प्रेमसँगै ग्रामीण र शहरी परिवेशका पात्रहरुलाई सुन्दर ढङ्गबाट लेखक केशरीले प्रस्तुत गर्नुभएको साहित्यकार ज्ञवालीको बुझाई छ । 

समालोचक राम लोहनीले उपन्यास सुवर्णलता सरल भाषामा बगेको र बौद्ध दर्शनलाई समेत उतारिएकाले सबैले बुझ्नसक्ने कृति बनेको बताए । उनले भने, ‘सुवर्णलतामा दुईवटा फरक कथा छ ।

एउटा पक्ष वर्तमान केन्द्रित छ भने अर्को वौद्धकालिन समयमा डुलेकोे छ । दुईवटा कृतिसमेत बन्नसक्ने कुरा एउटै कृतिमा समावेश हुनु पाठकको लागि फाइदाको कुरा हो ।’

कार्यक्रमा उपस्थित पाठकले उपन्यास अत्यन्त उत्कृष्ठ भन्दै उपन्यासमा लेखकले वौद्धकालिन समाज र बुद्धले पत्ता लगाएको ज्ञानलाई उपन्यासमा ढालेकाले उपन्यास पढ्दा बुद्धको मार्गमा स्वयम् हिँड्दै गरेको अनुभुति हुने धारणा ब्यक्त गरेका थिए ।
 
कार्यक्रममा उपस्थित पाठक विजय मोक्तानका अनुसार ‘उपन्यास पढ्दा बुद्ध स्वयम् नै अगाडि उभिएर प्रवचन दिइरहको अनुभूति हुनु लेखकको लेखकीय सफलता हो ।’

लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँ उर्जा प्राप्त भएको भन्दै आफूमाथि नयाँ जिम्मेवारी थपिएको बताए । आफ्नो प्रयासलाई पाठकले मन पराएकै कारण बजारमा आएको छोटो समयममै सुवर्णलताको दोस्रो संस्करण प्रकाशन गरिन लागेको पनि उनले खुलासा गरे । 

‘सुवर्णलता’ उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

प्रतिकृया दिनुहोस