लाली गुराँसको राजधानी जाँदै गर्दाको अनुभूति 


राजेन्द्र प्रसाईं , प्रकाशित मिति : २०७४ ,चैत्र , ८ 05:55:49

33085-20180322055549.jpg

बिर्तामोडको मनकामना कलेजमा बीए तहमा पत्रकारिता मूल विषय लिएर अध्ययन गर्ने विद्यार्थीहरुको लागि वर्षमा कम्तीमा एकपटक स्थलगत अध्ययन भ्रमण (प्रयोगात्मक परीक्षाका लागि) लैजाने परिपाटीको विकास गरिएको छ । विभागीय प्रमुखको सल्लाहमा क्याम्पसले यसको व्यवस्थापन मिलाउँदै आएको छ । योक्रमले २०६७ सालदेखि निरन्तरता पाइरहेको हो ।

यसरी स्थलगत अध्ययन भ्रमणका लागि जाँदा प्रायः म छुटेको छैन । यो मेरो लागि अवसर पनि हो र जिम्मेवारी पनि भन्ने मैले अनुभूत गरेको छु । यही सन्दर्भमा यो वर्ष पनि २९ जना विद्यार्थी लिएर हामी दुई गोपाल काफ्ले सर अनि म तथा बसका चालक सहचालक गरी ३३ जनाको दुईदिने भ्रमण सम्पन्न भएको छ ।

 
गत फागुन २५ गते शुक्रबार र २६ गते शनिबार दुई दिने अवलोकन भ्रमण गरेर फर्किएका छौं । र, यात्रा पछि वर्णन लेख्ने आफ्नो बानीको निरन्तरताका लागि पनि यो निवन्ध फुरेको छ ।

गोपाल सरले बनाएको समयसारिणी अनुसार २५ गते बिहान ७ बजे कलेजबाट निस्कियौं हामी पूर्वी पहाडी जिल्ला धनकुटा र तेह्रथुमको यात्रामा । हाम्रो गन्तब्य थियो बसन्तपुर बजार हुँदै सरकारद्वारा लाली गुराँस संरक्षण क्षेत्र अन्तगरत तीनजुरे मिल्के र जलजलेसम्मको गुराँस वन हेर्ने ।

बिहान दमकमा चिया खाजा खाएर धरान हुँदै भेडेटारमा खाना खाने योजनामा अघि बढ्यौं । भेडेटारको मिठो दालभात तरकारीले पेट भरेर एकछिन वरिपरीका मनोरम दृश्यावलोकनमा विद्यार्थीसँगै रमाउँदै, गफिँदै हामीले यात्रालाई अघि बढायौं । यो बाटो हामी केहीका लागि नयाँ नभए पनि कतिपय विद्यार्थीहरुका लागि नविन यात्रा थियो ।

बसभित्र विद्यार्थीहरु नाचगानमा व्यस्त थिए भने उनीररु सँगसँगै हामी पनि सबै व्यवहारिक चाप र तनावलाई भुलेर आनन्दको सागरमा डुबुल्की मार्दै उनीहरुलाई नै साथ दिइरहेका थियौँ । तम्मर खोलाको फलामे पूल मुलघाटमा बसबाट ओर्लिएर वारीबाट पारीसम्म पूलमा हिंड्दै, फोटो खिच्ने र भिडियो बनाउने कार्यक्रमअनुसार यसै गरियो । 

रङ्गी चङ्गी पोशाक, रङ्गीन सपना, नानाथरीका मोवाइल फोन र क्यमरा सँगसँगै चुल्बुले केटाकेटी झैं विद्यार्थीहरु रमाउँदै फोटो खिचिरहे । समूह समूहका विद्यार्थीहरु हामीसँग पनि फोटो खिच्न आग्रह गर्थे, हामी उभिएर बसेर उनीहरुको चाहनाको कदर गरिदिन्थ्यौं । 

यतिमात्र होइन, आफैंपनि विद्यार्थीको समकालीनजस्तै बेलाबेला व्यवहार भइहाल्ने, क्यामरा झिकेर सेल्फी मुड बनिहाल्ने ! यात्रामा उनीहरुसँग नाच्नै पर्ने र गाउँनै पर्ने, फोटो खिच्नैपर्ने बाध्यतामा गोपाल सर र म विवश थियौं । त्यसो त हाम्रो पनि रहर नभएको कहाँ थियोे र !

पूल पारीबाट पुनः बस चढेर उखुका टुक्रा चपाउँदै धनकुटातर्फ उकालिन थाल्यौं । एकैछिनमा धनकुटा बजार माथि डाँडाभित्तामा सेताघरहरु देखेपछि विद्यार्थी औदी रमाए । फर्कंदा धनकुटा बजार डुल्ने र महोत्सव पनि हेर्ने भनेर फकाउँदै विद्यार्थीहरु लिएर हामी हिलेतर्फ उकालियौं । 

विद्यार्थीहरुको चाहना पाख्रिबास कृषि अनुसन्धान केन्द्र जाने थियो, नगई मान्दै मानेनन् । हिलेबाट बाटो छुट्दो रहेछ पख्रिबाससम्मको कच्ची बाटो एकैछिनमा कृषि अनुसधान केन्द्र छेउमा रमेशले बस रोकाए र हामी तलतिर ओर्लियौं ।

पत्रकार र पत्रकारिताका विद्यार्थीलाई भन्दा कृषक र कृषि व्यवसायका निम्ति उपयुक्त पाख्र्रिबासमा विद्यार्थीहरु समूह—समूह भएर हेर्न घुम्न थाले । पक्की सुन्दर कार्यालय भवन साँच्चै सुन्दर रहेछ पाख्रिबास । उन्नत जातका बाली विरुवा उन्नत जातका विभिन्न प्रजातिहरुका बगैंचा, कान्ला कान्ला परेको पाखाबारीमा सजाएर अटाइएका फूलहरु साँच्चै सुन्दर रहेछ । 

विद्यार्थीहरु फोटो खिच्न खिचाउन र अवलोकनमा मस्त थिए । पशु पन्छीका संरक्षण प्रजनन् तथा प्रदर्शनसँगै बीउ बिजन प्रयोगशाला, अनुसन्धान केन्द्र सबैतिर घुमिसक्दा झण्डै २ घण्टा बितेछ ।

बल्ल बल्ल विद्यार्थी भेला पारेर पाख्रिबाससँग विदा माग्दै हामी हिलेहँुदै बसन्तपुर तर्फ लम्कियौं । हिलेबजार निकै उचाइमा रहेको शेर्पा बस्तीको पर्यटकीय क्षेत्र हो । असाध्यै जाडो हुने यस ठाउँमा अहिले खासै जाडो रहेनछ । तुवाँलोले गर्दा तल अरुण खोला र परिपटी भोजपुर देख्न पाइएन । बाक्लो तुवाँलोकै कारण नत हिमाली सौन्दर्यको रसपान गर्न नै पाइयो । विद्यार्थीहरु भने बस हल्लाउने गरी गीत गाउँदै नाच्दै थिए । हामी दुई तिनकै रमिता हेरेर अघि बढ्दै थियौं । 

यसअघिको स्थलको यात्राका निम्ति हामीहरु सबै नयाँ थियौं । चालक रमेश बसन्तपुर जाने बाटो सोध्दै अघि बढिरहे । साँझमा हामी बसन्तपुर बजार रहेको लाली गुराँस नगरपालिकाको भूगोलमा बसबाट ओर्लंदा मनभरि कौतुहलता जिज्ञासा र उत्सुकताले भरिएका थियौं । 

क्रमशः ......

(सहायक क्याम्पस प्रमुख मनकामना कलेज, बिर्तामोड ।)
 

प्रतिकृया दिनुहोस