असफल पार्नुपर्छ वाम एकीकरणबिरुद्धका प्रयास


देबेन्द्र  दाहाल   , प्रकाशित मिति : २०७४ ,चैत्र , ५ 11:39:41

33027-20180319113941.jpg

यतिबेला एमाले र माओवादी केन्द्रबीचको एकताको बिषय सर्वाधिक चर्चाको बिषय बनेको छ । यो एकताको बारेमा आफूलाई बिद्धान भन्ने लेखक, बिश्लेषक र अन्य बिभिन्न व्यक्तिका विचार प्रवाह भइरहेका छन् । त्यसैगरि माओवादी केन्द्र भित्र बिद्रोहीको रुपमा देखिएका गोपाल किराँती लगायतका विचार पनि नेपाली आइरहेका छन् । यी दुवै पार्टीमा आस्था राख्ने र भिन्न बिचार राख्ने बिभिन्न व्यक्तिहरुबाट पनि विभिन्न कोणबाट विचार आइरहेकै छन् ।

     

 

केही भिन्न बिचार राख्नेहरुले वाम एकता देश र जनताको लागि नभएर नेताको स्वार्थको लागि भएको, सत्तामा जानका लागि भएको, कांग्रेस र एमालेमध्ये कसैलाई पनि निर्णायक शक्ति बन्न नदिने अदृश्य शक्तिको खेल भएको लगायतका प्रतिक्रिया सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत अहिले हामी पाठकहरुलाई एउटा अवसर पनि प्राप्त छ । त्यो के हो भने विभिन्न राजनीतिककर्मी र बिचारकहरुका बिचारहरु आम सर्वसाधारण जनताको नजरमा के कति सहि वा गलत छन ? वा जनताको मुल्याकंन के रहेको छ ? बुझ्न सकिन्छ । यसरि हेर्दा आम सर्वसाधारणदेखि राजनीतिककर्मी र बिश्लेषकसम्मका बिचारलाई हेर्दा मैले यसरि बिश्लेषण गरेको छु ।

अव कम्युनिष्ट एक भए, बहुमतको कम्युनिष्टको सरकार बन्ने भो, मुलुकले काँचुली फेर्ने भो, तिब्र गतिले देशको बिकाश हुने भो, अव हाम्रो पनि जीवनस्तर सुध्रने भो आदि जस्ता आशाले भरिएका बिचार आएका छन् । तर जनताका समस्या नबुझ्ने, जनताको पक्षमा काम नगर्ने र कम्युनिष्टहरु सत्तामा पुगेपछि बिग्रने हुन कि भन्ने जनतामा आशंका पनि छ । व्यक्तिगत प्रतिष्ठाका लागि फेरि पार्टी फुटाउने हुन कि ? भन्ने डर पनि जनतामा छँदैछ । तर आमरुपमा हेर्ने हो भने जनतामा आशा पलाएको छ, उत्साह जागेको छ । यस्तो बेलामा आम जनताको साथ सहयोग मिल्ने विश्वास लिन सकिन्छ । वामपन्थीहरुले यस्तो बेलामा जनताको मनोभावनालाई बुझेर ब्यापक जनताको साथ सहयोगको साथमा अगाडि बढ्न सक्नुपर्छ । 

चुनाव अगाडि र चुनावको परिणामपछि नेपालका केही चुनिएका बिश्लेषक, वुद्विजीवीहरुका अभिब्यक्ति हेर्दा सवैको निष्कर्ष एउटै देखिन्छ–त्यो के भने नेपालका यी दुई वामपन्थी पार्टी एक हुनै सक्दैनन् र हुनुहुँदैन । चुनाव हुनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत अन्य बिपक्षी दलले वामपन्थी एक भए अब कम्युनिष्ट अधिनायकवाद ल्याउन खोज्दैछन् भनेर ठूलो हल्ला मच्चाए ।  जनताले उनीहरुका कुरा पत्याएनन् । यस्तो बेलामा केही आफूलाई बुद्विजीवि बिश्लेषक भन्नेहरुले यो वाम एकताको बिरुद्वमा अर्को कोणबाट कुरा ल्याइरहेका बिषय साँच्चै स्वतन्त्र छन् ? वा ती हिजोका पँुजिवादीहरुले चलाएका हल्ला र यी बुद्विजीवीहरुको तर्फबाट आएका बिचारमा तादाम्यता के हो ? के अन्ततोगत्वा पुँजीवादी स्यालहरुले वामपन्थीहरुको बिरुद्वमा हौवा मच्चाएजस्तै हो ? यसको बिश्लेषण गर्दै अगाडी बढ्नु आवश्यक छ ।

पार्टी एकीकरणको सम्बन्धमा दुइ कुरा अलि पेचिंदो गरि आउन सक्छन् । पहिलो, पार्टी नीतिको कुरा जो कम्युष्टि पार्टीमा स्वभाविक रुपले अत्यन्तै महत्व राख्दछ । दोश्रो, पार्टी नेता र कार्यकर्ताहरुको व्यवस्थापन । पार्टी नीति र सिद्वान्तको बिषय भावनामा बगेर होइन, सृजनात्मकढंगले व्यवहारबाट पुष्टि भएका नीति र सिद्वान्त अंगिकार गर्नको लागि हामीलाई कुनै कठिनाई छैन । त्यसैले हामीले हिजो यस्तो नीति लिएका थियौं भनेर आग्रह राखेर होइन, तथ्यको आधारमा बृहत छलफलका साथ अगाडी बढ्यौं भने निष्कर्षमा पुग्न कुनै समस्या हुँदैन । त्यसैगरि दुई पार्टीको ठूलो पंक्तिमा रहनु भएका नेताहरु र बिशाल कार्यकर्तापक्तिको व्यवस्थापनको बिषय सामान्य होइन । यो बिषय तल्लो तहका पार्टी सदस्यसम्मको व्यवस्थापनको बिषय हो । यसलाई पनि बैज्ञानिक मापदण्ड बनाएर अगाडि जाने हो भने सजिलै निष्कर्षमा पुर्याउन सकिन्छ । तर त्यसोगरि काम हुन्छ कि हुँदैन ? बिचार पुर्याउनु पर्ने बिषय हो । 

भर्खरै मात्र करिव ७८ प्रतिशत मतका साथ केपी शर्मा ओलीको सरकारले विश्वासको मत प्राप्त गरेको छ । वाम गठबन्धन लगायत मधेशवादी दलहरु समेतको समर्थनमा राष्ट्रपतिमा बिद्यादेबी भण्डारी निर्वाचित भइसक्नु भएको छ ।  सभामुखमा माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्वाचित भइसक्नु भएको छ । अव छिट्टै सरकारलाई पूर्णता दिएर यो सरकार आफ्नो लक्षमा द्रुत गतिका साथ अगाडि बढ्ने छ । यो नेपाली जनताको लागि असाध्यै खुसीको कुरा हो । यसलाई अब कसैले रोक्न सक्दैन ।  यसरि सरकार आफ्नो गतिमा अगाडि बढिरहन्छ,पार्टी एकताको लागि गृहकार्य गर्न बनाइएका संयन्त्रहरुले काम अगाडि बढाउंदै जाने छन् । यो वाम एकतालाई निष्कर्षमा पुर्याउनको लागि नेतृत्वले बिचार पुर्याउनु पर्नेछ । हामी कार्यकर्ताहरुले पनि खबरदारीका साथ होस्टेमा हैंसे गर्दै साथ दिनुपर्छ । 

प्रतिकृया दिनुहोस