प्रदेश एकमा रुख काट्न र टेन्डर गर्न रोक


अनलाइन, प्रकाशित मिति : २०७४ ,चैत्र , ४ 13:43:23

33002-20180318134323.jpg

विराटनगर । प्रदेश १ मा संघीय सरकारद्वारा सञ्चालित वैज्ञानिक वन व्यवस्थापन अन्तर्गतका कार्यक्रम तत्काल अगाडि नबढाउन मुख्यमन्त्री शेरधन राइले निर्देशन दिएका छन् ।

पछिल्लो समय वन व्यवस्थापनका नाममा अनधिकृत रुपमा रुख कटान गर्ने र पारदर्शी ढंगले त्यसको व्यवस्थापन नभएको भन्ने जनगुनासो आएसँगै प्रदेश सरकारको ध्यानाकर्षण भएकोले तत्काललाई यो कार्यक्रमसँग सम्बन्धित काम नगर्न निर्देशन दिइएको मुख्यमन्त्री राईले अन्नपूर्णलाई बताए ।

‘टेन्डर र कटानसँग सम्बन्धित सबै काम नगर्न नगराउन निर्देशन दिएका छौं’, उनले भने । राईले पहिलेको संवैधानिक व्यवस्थाअनुसार आएको वैज्ञानिक वन व्यवस्थान कार्यक्रम संघीय संरचनामा मुलुक गई प्राकृति साधन स्रोतको बाँडफाँट तीनै तहको सरकारसँग हुने व्यवस्था भएकोले सो विषय प्रस्ट नभई कटान र टेन्डर रोक्ने नीति लिइएको जानकारी दिए ।

आइतबार मुख्यमन्त्री कार्यालयमा जिल्ला वन कार्यालय मोरङका डिएफओ विनोदप्रसाद देवकोटासहित, इलाका वन, उपभोक्ता समितिका पदाधिकारी, सुरक्षा निकायलगायत सहभागी थिए ।

यसक्रममा प्राकृतिक साधन स्रोतको विषयमा अधिकार प्रस्ट हुन बाँकी भएकोले मौजुदा कार्यक्रमलाई तत्काल पहिलेकै स्वरुपमा अघि नबढाउन निर्देशन मुख्यमन्त्री राईले निर्देशन दिएको एक सहभागीले बताए ।

मुख्यमन्त्री राईले वन व्यवस्थापन कार्यक्रमको विषयमा आएका टिकाटिप्पणी तथा रुख ढकालनको विषयमा प्रदेश सरकारको ध्यानाकर्षण भएकोले नयाँ कदम चाल्नु परेको स्पष्ट गरे । नियमित कार्यक्रमअन्तर्गत नै रूख काट्ने काम भएको जिल्ला वन कार्यालयले दाबी गर्दै आएको छ । रुख कटानको काम भने शुक्रबारबाटै बन्द गरिएको छ । पूर्वी तराईको चारकोशे झाडीमा अहिले वन व्यवस्थापनको नाममा दैनिक ठूलो संख्यामा सखुवाका रुख कटान भई रहेको छ ।

मोरङमा चार वर्षअघिवाट वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम सुरु भएको हो । मोरङमा दस वर्षसम्मका लागि भन्दै क्यालेन्डर बनाएर १३० वटा सामुदायिक वनमध्ये २४ वटाले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा लागि स्वीकृति लिएका छन् । जिल्लामा ५५ हजार ५ सय हेक्टर वन क्षेत्र जसका ४२ हजार १ सय ८९ घरधुरी उपभोक्ता छन ।

प्रतिकृया दिनुहोस