उपराष्ट्रपति चुन्न चैत्र ९ गते मतदान


अनलाइन, प्रकाशित मिति : २०७४ ,फाल्गुन , ३० 15:00:55

32920-20180314150055.jpg

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन चैत्र ९ गतेका लागि तोकेको छ।

आयोगको बुधबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षता बसेको बैठकले राष्ट्रपति निर्वाचनको मिति तय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५ (२) मा राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले निर्वाचनको मिति तोक्ने व्यवस्था रहेको छ। यसै गरी नेपालको संविधानको धारा ७० एवं राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा ५ बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने व्यवस्था छ।

मंगलबार सम्पन्न राष्ट्रपति निर्वाचनबाट नेपालको राष्ट्रपतिमा खस आर्य समुदाय तथा महिलाबाट विद्यादेवी भण्डारी निर्वाचित भइसकेकी छन्। संविधान अनुसार अब बन्ने उपराष्ट्रपतिका लागि फरक समुदाय र पुरुषले मात्रै उम्मेदवारी दर्ता गर्न पाइने आयोगले जानकारी दिएको छ। आयोगले उपराष्ट्रपति निर्वाचनको कार्यतालिका पनि प्रकाशित गरेको छ।

जसअनुसार चैत्र १ गते मतदाता नामावली प्रकाशन, चैत्र ३ गते उम्मेदवारी दर्ता तथा चैत्र ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। चैत्र ९ गते शुक्रबार बिहान १० बजे देखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुने आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगले उपर्राष्ट्रपतिको निर्वाचनका लागि तयारी पनि सुरु भइसकेको जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस