गोमा बचाउन आर्थिक सहयोग जुट्दै


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २९ 17:04:40

32903-20180313170440.jpg

शिवसताक्षी । गत माघ ३ गते पूर्व पश्चिम लोकमार्ग अन्तर्गत शिवसताक्षी १० मा मोटरसाइकल दूर्घटनामा परी गम्भीर घाइते भएकी एक महिलाको उपचार सहयोगार्थ रकम हस्तान्तरण गरिएको छ ।

गोमादेवी गुरागाईं बचाउ अभियान सुरु गरेपछि शिवसताक्षी १० निवासी हाल इजरायल बस्दै आएकी ममता लिम्बूको पहल तथा सोही स्थानकै मकाऊमा बस्दै आएका सुरेश योङ्गहाङ्ग तथा गीता मगरको पहलमा त्यहाँ बसोबास गर्ने दयालु मन भएकाहरुको सहयोगमा रकम प्राप्त भएको हो ।

उनीहरुले जम्मा गरी कैलाश शिखर फाउण्डेशन मार्फत पठाएको रकम पहिलो पटक १ लाख २० हजार ५०० रुपैंया, दोस्रो पटक ३० हजार र फागुन २९ गते तेस्रो पटक १ लाख ५५ हजार ७९४ रुपैयाँ गरी हालसम्म ३ लाख ६ हजार ३४९ रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको कैलाश विक्रम वनेमले जानकारी दिए ।

गत माघ ३ गते घाँसको भारी बोकेर बाटो काट्ने क्रममा मोटर साइकलले ठक्कर दिएर गम्भीर घाइते बनेकी गोमा बिर्तामोडस्थित बि एण्ड सी अस्पतालको आइसीयुमा उपचाररत छिन् । 

मोटरसाइकल चालकको भने तत्कालै निधन भएको थियो । घाइते गोमाको उपचारमा अहिलेसम्म १२ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको बताइएको छ ।

उक्त मोटरसाइकलका धनी झापाको कुञ्जिबारी झोडाका विजय लिम्बूलाई कुमरखोदबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

प्रतिकृया दिनुहोस