चारआलीमा ‘बैना’को शुभमुहुर्त


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २९ 16:55:22

32902-20180313165522.jpg

झापा । नेपाली कथानक चलचित्र ‘बैना’ को झापाको चारआलीबाट शुभमुहुर्त गरिएको छ । चारआलीमा रहेको पाउ पाथिभरा मन्दिरमा मंगलबार चलचित्रको शुभमुहुर्त गरिएको हो । 

झापाका सञ्चारकर्मीहरुले चलचित्र छायांकनको शुभारम्भ गरेका थिए । फोटोपत्रकार बिनोद पाण्डेले क्यामेराको बटन थिचेका थिए भने, पत्रकार रविन भट्टराईले क्ल्याप अन गरेका थिए । अर्का सञ्चारकर्मी प्रेम आचार्यले नरिवल फोरेर बैनाको शुभसाइत गरेका थिए । 

झापाली निर्देशक दिलप्रकाश याक्सो ‘टाइगर’ को निर्देशनमा निर्माण हुने चलचित्रमा भुपेन्द्र लिङदेन र राजकुमार लिङदेन ‘राजु’ को प्रस्तुती रहने छ । ६० लाख रुपैंयाको लागतमा निर्माण गरिने सो चलचित्रको छायाङ्कन शुरु गरिएको निर्देशक याक्सोले जानकारी दिएका छन् । 

झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा छायाङ्कन गरिने चलचित्रमा सो क्षेत्रका मौलिक पहिचानलाई समेट्दै प्रेम कथानक चलचित्र बनाउने अर्का निर्माता धनराज याक्सोले जानकारी दिए । 

चलचित्रको निर्माण नियन्त्रकमा कुमार सिलवाल, छायांकन बिक्रम डिसी, कथा विजय केरुङ र संगीत विकास चौधरीको रहेको छ । द्धन्द भने राजु किराँतीले गर्ने जनाइएको छ । 

नेपाली लोक संस्कृतिमा आधारित संगीत रहने चलचित्रमा राजेश पायल राई, मेलिना राई, सुमन थाम्सुहाङ, सिमरन र राजकुमार लिङ्देनको स्वर रहने जनाइएको छ । लिङ्देन फिल्मस् प्रालिको पहिलो प्रस्तुतिका रुपमा बैना चलचित्र निर्माण हुन लागेको हो । 

चलचित्रमा सुवास मेचे, रञ्जिता लिम्बु, उदय सुब्बा, भुपेन्द्र लिङदेन, राजकुमार लिङदेन, पर्वत राई, बिना पालुङवा, रमा लिम्बु, जयकिशन बस्नेत, सुरविर पण्डित, कुमार आचार्यलगायतको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
 
चलचित्रको कथामा संस्कृतिसँगै हास्य विधालाई समेत समेटिएको छ । हालसम्म निर्माण भएका नेपाली चलचित्रभन्दा फरक धारमा निर्माण गरिने भएकाले चलचित्र निर्माण सम्पन्न भएपछि दर्शकले मन पराउने अपेक्षा निर्माण पक्षको छ । 

प्रतिकृया दिनुहोस