एनएमसीको सामाजिक सेवा कार्यः निःशुल्क पशु स्वास्थ्य शिविर 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २९ 13:30:32

32894-20180313133032.jpg

शरणामती (झापा) । झापा गाउँपालिका ६ शरणामतीमा सोमबार निःशुल्क पशु स्वास्थ्य शिविर तथा प्रदर्शनी सम्पन्न गरिएको छ । 

स्थानीय पशुपालक किसानलाई पशु सेवा पुर्याउने उद्देश्यले नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको एनएमसी कृषि समितिको आयोजनामा सो पशु स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

संस्थाको शरणामती सेवाकेन्द्र र शरणामती चिस्यान केन्द्रको व्यवस्थापनमा भएको शिविरमा १०० भन्दा बढी किसानका १५० वटा बढी पशुको स्वास्थ्य परीक्षण गरिएको हो । 

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र वरिष्ठ पशु चिकित्सक दिलिप सापकोटाले शिविरको उद्घाटन गरेका हुन् । पशु चिकित्सक सापकोटाको नेतृत्वमा रहेको पशु चिकित्सकको टोलीले शिविरमा गोबर, पिसाव, थुनेलोलगायत परीक्षण गरेको थियो । 

हाम्रो भेटेरीनेरी सेवा सहकारी बिर्तामोड, झापा गाउँपालिका, पशु सेवा कार्यालय झापा, कामधेनु पशु स्वास्थ्य प्राविधिक समूह बुद्धशान्तिको प्राविधिक सहयोग रहेको शिविरमा वरिष्ठ पशु चिकित्सक सापाकोटासहितको प्राविधिक टोलील स्थानीय किसानलाई सेवा प्रदान गरेका थिए । 

अधिकांश पशुमा आन्तरिक परजीविको संक्रमण, पोषणको कमि, बाँझोपन तथा थुनेलोलगायतको समस्या देखिएको पशु चिकित्सक सापकोटाले बताए । स्वास्थ्य परीक्षणका लागि ल्याइएका पशुका लागि निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो । 

पहिलो पटक संस्थाले आयोजना गरेको शिविरबाट सेवा लिनका लागि निक्कै टाढा–टाढाबाट पशु लिएर किसानहरु आएका थिए । शिविरमा विभिन्न कम्पनीले एक लाख रुपैयाँभन्दा बढीको औषधी निःशुल्क उपलब्ध गराएका थिए ।

पशु प्रदर्शनीमा राखिकएका पशुमध्ये मोहन भट्टराईको प्रथम, विष्णु पनेरुको दोस्रो, बसुन्धरा थपलियाको तस्रो तथा नयन्द्र पाण्डेले सान्तवना पुुरस्कार प्राप्त गरेका छन् । 

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, संस्थाद्वारा सञ्चालित एनएमसी डेरीका प्रबन्ध निर्देशक श्यामकुमार मिश्रलगायतले क्रमशः १ हजार ५००, १ हजार, ८०० र ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरेका थिए । 

एनएमसी कृषि समिति संयोजक नारायणप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने पशु प्राविधिक सहायक प्रथम राजेन्द्र आचार्यले सञ्चालन गरेका थिए । 

प्रतिकृया दिनुहोस