व्यवसायी हत्याको बिरोधमा आज बिर्तामोड बजार बन्द


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २९ 12:36:35

32893-20180313123635.jpg

बिर्तामोड । सुनचाँदी व्यवसायी संघ झापाका सदस्य साजन मुखियाको हत्याको विरोधमा तथा उनको श्रद्धाञ्जलीका लागि आज बिर्तामोड सहरका पसलहरु बन्द गरिएका छन् । 

बिर्तामोड उद्योग वाणिज्य संघ र सुन चाँदी व्यवसायी संघ झापाको संयुक्त आव्हानमा बिर्तामोड बजार बन्द गरिएको वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिए ।

फागुन २० गतेदेखि बेपत्ता रहेका मुखियाको शव बोराभित्र कीरा परेर सड्न लागेको अवस्थामा सोमबार इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भेटिएको थियो । 

मेची राजमार्गको लसुने–अर्यालचोक सडकखण्डको जमुने डाँडामा सडकबाट करिब २० फिट तल जुटको बोरामा हालेर फालिएको अवस्थामा सुनचाँदी व्यवसायी मुखिया शव फेला परेको बिर्तामोड प्रहरीले पनि पुष्टि गरेको छ ।

पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा शव भेटिएको रोङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईले जानकारी दिएकी छन् । 

बिर्तामोडस्थित दावा ज्वेलर्सका सञ्चालक मुखिया फागुन २० गते श्रीमती रविनालाई बजार जान भन्दै घरबाट बाहिरिएका थिए । 

मुखियाको शव प्रकृति मुचुल्का पछि पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको छ । तर परिवारका सदस्यको अनुपस्थितिमा यो समाचार तयार पार्दासम्म शवको पोष्टमोर्टम हुन नसकेको वाणिज्य संघका अध्यक्ष भट्टराईले बताए ।

घटनालाई नजिकबाट अनुसन्धान गरिरहेको बिर्तामोड प्रहरीले केही संन्दिग्ध अपराधीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ तर नाम भने खुलाउन चाहेन ।

सुनचाँदी व्यवसायी संघ र वाणिज्य संघले उक्त घटनाको छानविनका लागि प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुमाथि गम्भीर छानविन गरी यथार्थ बाहिर ल्याउँदै दोषी भए कारबाही गर्न तथा निर्दोष पाइएमा बिना शर्त रिहा गर्न भनेको छ ।

प्रतिकृया दिनुहोस