छोटो समय अधिक चर्चाः सुरुङ्गाको ह्याप्पील्याण्ड


सुस्मिता अधिकारी , प्रकाशित मिति : २०७४ ,फाल्गुन , २९ 11:56:25

32892-20180313115625.jpg

सुरुङ्गा । आन्तरिक पर्यटक आगमनका दृष्टिकोणले चर्चित बनेको जामुनखाडी सीमसार नजिकै अर्को पनि पर्यटकीय गन्तव्य निर्माण गरिएको छ ।

विदेशमा बसेर धेरैवटा पर्यटकीय गन्तव्य अवलोकन गरिसकेका स्थानीय सिवाकोटी दाजुभाइले निजी लगानीमा ह्याप्पी ल्याण्ड फनपार्कको निर्माण गरेका हुन् ।

माटोको थुम्कोबाट बनाइएको ७० मिटर अग्लो सेल्फी डाँडा यहाँको मुख्य आकर्षणको केन्द्र हो । बृद्धबृद्धादेखि केटाकेटीसम्मका सबै उमेर समूहका मान्छेहरु सेल्फी डाँडामा आएर रमाउने गरेका छन् ।

सेल्फी डाँडामा मात्र होइन ह्याप्पी ल्याण्ड फन पार्कमा आकाशे पूल, बगैंचा, बालबलिकाले खेल्ने चिप्लेटी र पिङको पनि व्यावस्था गरिएको छ ।

‘फनपार्क सुरु गरेको एक महिना मात्र भयो’ सञ्चालक दिनेश सिवाकोटी भन्छन्,  ‘हिजोआज दिनहुँ ७०० भन्दा बढी मानिसहरु मनोरञ्जनका लागि यहाँ आउन थालेका छन् ।’

करिब ४ विगाहा २ कठ्ठा जमिनमा सुरु गरिएको ह्याप्पी ल्याण्डमा पहिले सन्काहा खोला बग्ने गथ्र्यो । करिब २ करोड रुपैयाँको निर्माण लगानी र जमिनमा १० कारोड रुपैयाँ मूल्य बराबर लगानी भएको सञ्चालक सिवाकोटी बताउँछन् ।

पूर्वी नेपालका विभिन्न भागहरुबाट ह्याप्पी ल्याण्ड घुम्न मानिसहरु आउने गरेको बताइएको छ । झापाका अन्य पर्यटकीय केन्द्रभन्दा फरक सुविधा र आकर्षणले भरिएको ह्याप्पील्याण्ड छोटो समयमा नै पर्यटकीय गन्तब्य बन्न सफल भएको स्थानीयहरु बताउँछन् ।

काँकरभिट्टाबाट शनिबारे छुट्टी मनाउन आफ्ना नानीहरुलाई लिएर आएकी सिता प्रधानले ह्याप्पी ल्याण्डको अवलोकन पछि आफ्ना नानीहरुले नयाँ नयाँ खेल खेल्न र अवलोकन गर्न पाएको बताइन् । 

ह्याप्पी ल्याण्डका सञ्चालक सिवाकोटीले फनपार्कमा अबका केही वर्षमा चिडियाखाना, विभिन्न जातजातिको कला संस्कृति झल्कने म्यूजियम, वनभोज स्थल निर्माण गरेर अझै धेरै पर्यटकहरु भित्राउने जानकारी दिए ।

हाल सबै उमेर समूहका आगन्तुकहरुका लागि ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । सुविधाहरु थपेपछि प्रवेश शुल्कमा सामान्य परिवर्तन हुनसक्ने सिवाकोटीले बताए । 

सहरको कोलाहल भित्र गुम्सिएको समाजलाई खुल्ला वातावरण पाउन ह्याप्पी ल्याण्ड फनपार्क सहयोगी बनेको छ । यस्तो फनपार्कको निर्माणले विदेशिने मन भएका युवालाई समेत स्वदेशमै उद्यम गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएको पाइन्छ ।

–    प्रशिक्षार्थी पत्रकार

प्रतिकृया दिनुहोस