बैंकको १७औं वार्षिकोत्सवमा सहकारी र कर्मचारी सम्मानित


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २७ 21:19:55

32865-20180311211955.jpg

बिर्तामोड । साना किसान विकास बैंकले आज आफ्नो १७औं वार्षिकोत्सव मनाएको छ ।

आइतबार बिर्तामोडमा आयोजित वार्षिकोत्सव समारोहमा बैंकले उत्कृष्ट साना किसान सहकारीलाई पुरस्कृत तथा सम्मानित गरेको हो ।

साना किसान विकास बैंक बिर्तामोड इलाकाका अध्यक्ष सुभाष गौतमको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहको उद्घाटन झापा क्षेत्र नं ३ का प्रदेशसभा सांसद बसन्त बानियाँले गरेका थिए । 

उद्घाटन मन्तब्यमा प्रदेश सांसद बानियाँले अत्यन्त सुलभ दरमा लगानी गरी साना किसानहरुको जीवनस्तर उकास्न र किसानलाई कृषिकर्ममा लागिरहन बैंकले पुर्याउँदै आएको सहयोग प्रशंसनीय रहेको बताए ।

साना किसान कृषि सहकारी संस्था भद्रपुरका प्रबन्धक तीर्थराज ओझाले सञ्चालन गरेको समारोहमा उत्कृष्ट साना किसान कृषि सहकारी संस्थाको रुपमा कचनकवल २ बनियानीस्थित नौलो भविष्य कृषि सहकारी संस्थालाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । 

यसैगरी, बैंकका पूर्व कर्मचारीहरु चूडामणि खतिवडा, बसन्त पोखरेल, सुमन ढकाल, नीरबहादुर अधिकारी, गणेश श्रेष्ठ र शेखर शिवाकोटीलाई पनि सम्मान गरिएको छ ।

सम्मानित कर्मचारीहरुलाई प्रमुख अतिथि बानियाँ, विशिष्ट अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलगायतले प्रशंसापत्र हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बैंकले झापा र इलामका पाँचवटा कृषि सहकारी संस्थालाई एक–एक थान ल्यापटप प्रदान गरेको छ । 

संस्थागत अनुसरणबाट सूचना तथा प्रविधिमा सहयोग पुर्याउने उद्देश्यले इलामका कोल्बुङ साना किसान कृषि सहकारी संस्था (रोङ), इरौंटार साना किसान कृषि सहकारी संस्था (इरौंटार) र शान्तिपुर साना किसान कृषि सहकारी संस्था (शान्तिपुर) लाई ल्यापटप प्रदान गरिएको हो । 

यसैगरी झापाका हल्दिबारी साना किसान कृषि सहकारी संस्था र घेराबारी साना किसान कृषि सहकराी संस्थालाई पनि ल्यापटप प्रदान गरिएको छ ।

कार्यक्रममा सांसद बानियाँ, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन बनियानीका प्रमुख मेघनाथ तिमल्सेनालगायतले मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिकृया दिनुहोस