सिटौलाको हुँकारः कम्युनिष्टहरुले जनतालाई ढाँटेर सत्तारोहण गरे !


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २७ 20:25:48

32861-20180311202548.jpg

भद्रपुर । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय स्वाधिनता र जनअधिकारका लागि भएका हरेक परिवर्तनको नेतृत्वदायी भूमिका खेलेको नेपाली कांग्रेसलाई समाप्त पार्ने सोच कसैले पालेको भए त्यो पक्ष त्यहीँ सिद्धिने तर्क गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को सम्मेलनलाई भद्रपुरमा सम्बोधन गर्दै नेता सिटौलाले तीनै तहका निर्वाचनमा प्राविधिक कारणले विजयी यात्रामा कमजोर देखिएकै आधारमा कांग्रेस समाप्त हुने घोषणा गर्नेहरु आफैं सकिने जिकिर गरेका हुन् ।

कम्युनिष्टहरुले जनतालाई ढाँटेर सत्तारोहण गरेको जनाउँदै कांग्रेस नेता सिटौलाले निर्वाचनको परिणाम आफ्नो पक्षमा नभए पनि निरास नहुन कार्यकर्तालाई आग्रह पनि गरे । उनले लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि नेपाली कांग्रेस डटेर लाग्ने भन्दै समय अनुकूल पार्टी रुपान्तरण गर्न पाँच वर्ष स्थानीय तहदेखि केन्द्रसम्मका नेतृत्वकर्ता तथा कार्यकर्ता जिम्मेवार हुनुपर्ने सुझाब दिए । 

उनले हामी सत्ता पक्ष होइनौं भन्ने बुझेर हरेक कार्यकर्ताले आफ्ना अगाडि सत्तामा रहेकाहरुले गल्ती गरे सच्याउन खबरदारी गर्नुृपर्ने दायित्वबोध आजको आवश्यकता रहेको पनि प्रष्ट पारे । 

क्षेत्रीय सभापति गणेश पोखरेल तथा नविन विमलीको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रमा जिल्ला उपसभापति राम कट्टेल, प्रदेश संसद ओमप्रकाश सरावगी, जिल्ला सदस्य भगिरथ पोद्धार, आदिवासी नेता भूमिप्रसाद राजवंशीलगायतले मन्तव्य राखेका थिए । 

कार्यक्रममा गाउँपालिका तथा नगरपालिकाका सभापतिहरुले तीनवटै तहका निर्वाचनमा असहयोग गर्ने कांग्रेसका क्रियाशील सदस्यहरुलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरी नयाँ सोचका साथ पार्टी सञ्चालन गर्न सकेमात्र कांग्रेसको पुनर्जागर अभियान सफल बन्ने धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस