कसले जित्ला तेस्रो झापा गोल्डकपको उपाधि ?


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २७ 18:12:45

रमपम झापा ११ र त्रिभुवन आर्मी क्लब दुवैको उपाधि चुम्ने दाबी

32858-20180311181245.jpg

झापा । मोफसल कै सर्वाधिक नगद पुरस्कार राशिको झापा गोल्डकपमा निरन्तर तेस्रो पटक फाइनलमा पुगेका रमपम झापा ११ र त्रिभुवन आर्मी क्लब दुवैले यस वर्षको उपाधि चुम्ने दाबी गरेका छन् । 

आइतबार भएको प्री–म्याच प्रेस कन्फरेन्समा बोल्दै झापा ११ का प्रशिक्षक प्रवेश कटवालले खेलाडीको कडा मेहेनत र दर्शकको समर्थन नै खेल जित्ने आधार भएको बताए । उनले आर्मी सशक्त टीम भए पनि झापा टेक्निकल गेममा उत्कृष्ट भएकाले उसलाई हराएर उपाधि हात पार्न सकिने दाबी गरेका हुन् । 

प्रशिक्षक कटवालले ओभर एजका कारण स्ट्राइकिङ लाइनमा केही समस्या रहेको बताउँदै त्यसलाई पूर्ति गर्न विश्वास श्रेष्ठलाई यसै वर्षदेखि अनुबन्धन गरेकाले खेल जित्ने दाबी गरेका हुन् ।

झापा ११ का टीम क्याप्टेन योगेश गुरुङले आयोजकको अनुबन्धनका कारण झापाली खेलाडीमा हौसला बढेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिने बताए । उनले उपाधि जितेर झापाली दर्शकको चाहना पूरा गर्ने पनि दावी गरे ।

यसैगरी आर्मीका प्रशिक्षक चुनबहादुर थापाले पनि खेलाडीको अनुभवलाई उपयोग गरेर खेल आफ्नो पक्षमा पार्ने रणनीति लिएको बताएका छन् । आर्मीको टीममा झापाको भन्दा धेरै जना राष्ट्रिय टीममा सहभागी खेलाडी समावेश छन् । 

झापाको टीम सशक्त रहेको भएपनि यो सिजनको सातौं उपाधि कब्जा गर्ने दावीसमेत थापाले गरेका छन् । आर्मीले यसवर्ष देशका विभिन्न स्थानमा भएका गोल्ड कपमध्ये ६ वटा गोल्डकपको उपाधि जितिसकेको छ ।

आर्मीका क्याप्टेन भरत खवासले झापामा आएर खेल्दा हौसला मिलेको बताए । उनले यो वर्ष अतिरिक्त समय थपिनुपर्ने बताए । निर्धारित ९० मिनेको खेलमा बराबरी भए सिधै टाइब्रेकरमा लगिने गरेको छ । उनले समय थप गरेर खेलाउन आग्रह पनि गरे ।

झापाले सुदुरपश्चिम ११, सिक्किम युनाइटेड र थ्री स्टार क्लबलाई हराएर फाइनलमा प्रवेश गरेको हो । यस्तै आर्मीले पनि विभागीय टीम नेपाल पुलिस क्लब र मनाङ मस्र्याङदी क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।

प्रतिकृया दिनुहोस