रमपम झापा गोल्डकपः थ्रिस्टारलाई हराउँदै झापा ११ फाइनलमा


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २५ 20:47:49

32805-20180309204749.jpg

बिर्तामोड । बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा थ्रिस्टारलाई ४– ३ गोल अन्तरले हराउँदै झापा ११ फाइनलमा प्रवेश गरेको छ । जितसँगै झापाले कम्तिमा ६ लाख रुपैंयाको पुरस्कार सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेट गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । झापाका लागि कर्ण लिम्बु, भुषण सुब्बा, कप्तान योगेश गुरुङ, र देबेन्द्र तामाङले गोल गरेका थिए । बिश्वास श्रेष्ठको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले रोकेका थिए ।
थ्री स्टारका लागि रजिन धिमाले, बिजय धिमाल र निराजन खड्काले गोल गरेका थिए भने सुनिल बल र बुद्ध चेम्जोङको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो ।

खेलको ११ औं मिनेटमा थ्री स्टारका अजय मार्टिनको प्रहार पोष्टबारमा ठोकिएर बाहिरिएको थियो । ३० औ मिनेटमा झापाका बिशाल राईको कडा प्रहार थ्री स्टारका गोलकिपर न्यौपानेले बचाउ गरेका थिए । खेलको ६० औं मिनेटमा बिशाल राइको प्रहार पोष्ट नजिकैबाट बाहिरिन पुग्यो । ६५ औं मिनेटमा थ्री स्टारका दिपक राईको प्रहार झापाका गोल रक्षक किशोर गिरीले रोकेका थिए ।

खेलको ६७ औं मिनेटमा गोलकिपर बीट भइसकेपछि थ्री स्टारका बुद्ध चेम्जोङले गरेको प्रहार झापाका डिफेन्डर दिलेन लोक्तामले गोललाईनबाट बचाएका थिए । ७५ औं मिनेटमा डि एरिया नजिकै पाएको पाएको फ्रि किकलाई थ्री स्टारका सुनिल बलले प्रहार गरेका थिए । सो प्रहार पोष्ट बार नजिकैबाट बाहिरिएको थियो ।

खेलको म्यान अफ दी म्याच झापाका डिफेन्डर देबेन्द्र तामाङ घोषित भए । उनले नगद २५ हजार रुपैंया पुरस्कार पाए । सो पुरस्कार शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसोसियट्सले उपलब्ध गराएको हो । शनिवारको अन्तिम सेमीफाइनल खेल मनाङ मस्र्याङदी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस