शिखर साकोसको सराहनायोग्य रचनात्मक प्रयास  


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १९ 13:52:48

32651-20180303135248.jpg

बिर्तामोड । सहकारी संस्था राम्रो हुन वित्तीय कारोबार ठूलो भएर मात्र पुग्दैन । आफ्ना शेयर सदस्यहरुले सहकारीमा प्रवेश गरेर के पाइरहेका छन् भन्ने कुराले पनि यसको निर्धारण गरेको हुन्छ । यसैको लागि झापाको बिर्तामोडमा सञ्चालित शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नोे ब्यानरमा सामुहिक लगानीका विभिन्न परियोजनाहरु सञ्चालन गरेर तथा सदस्य केन्द्रित रचनात्मक सेवाहरु दिएर सहकारिताको यात्रा अघि बढाइरहेको छ ।

२०६७ सालमा ४४ जना युवाबाट १००० रुपैयाँका दरले शेयर संकलन गरी स्थापना गरिएको शिखर साकोस आज वित्तीय क्षेत्रसँगै नमूनायोग्य र रचनात्मक कार्यक्रमहरु अघि सारेर संस्थागत आम्दानी तथा सदस्य सेवा प्रदान गर्नमा अग्रसर छ । 

कृषिप्रधान देशका युवा शक्ति स्वदेशमा नै बसेर रोजगारी पाउन् भन्ने ध्येयले शिखर कृषि परियोजना सञ्चालन गरेर होस् वा शिखर बजारको माध्यमबाट उपभोक्तालाई गुणस्तरीय उपभोग्य बस्तुहरु उपलब्ध गराएर होस्, शिखर साकोसले रचनात्मक मार्ग पहिल्याएको अध्यक्ष दीपेन्द्र राउत सुनाउनु हुन्छ । 

शिखर साकोसमा वित्तीय कारोबारको अंक पनि क्रमशः बढिरहेको छ । अहिले संस्थाको वासलात १७ करोड ६० लाख रुपैयाँ हाराहारीको बनेको छ । गत असार मसान्तसम्म शेयर पूँजी २ करोड १९ लाख ९२ हजार रुपैयाँ छ । 

हप्ताको सातै दिन वित्तीय कारोबार गर्ने शिखर साकोसले विद्युत्, खानेपानी, टेलिफोनको महशुल तथा मोवाइल रिचार्ज, डिसहोमको रिचार्ज अनि रेमिट्यान्स सेवा घरघरमा पुर्याएको छ । संस्थाका सचिव तथा कार्यकारी प्रमुख हिमालय प्रसाईं वित्तीय कारोबारसँगै सदस्यहरुले पाउने सेवामा विविधता दिनु आफूहरुको लक्ष्य रहेको बताउनु हुन्छ । सहकारीलाई बुझ्ने पुरानो ट्रेन्डलाई हामीले तोडेका छौं भन्नुहुँदै प्रसाईंले सहकारीलाई नयाँ शिराबाट बुझाउने प्रयास गरिरहेको सुनाउनु हुन्छ । 

गत कात्तिक २० गते सम्पन्न संस्थाको सातौं वार्षिक साधारणसभामा शेयर सदस्यहरु मध्ये आफ्नो व्यवसाय उत्कृष्ट बनाउँदै लगेका २८ जना व्यवसायीलाई प्रशंशापत्रले सम्मान गरिएको दृष्टान्तबाट पनि संस्थाका सञ्चालकहरुको सोचाइलाई रचनात्मक भएको बुझ्न सघाउँछ । झापाभर ४ वटा सेवा केन्द्र विस्तार गर्ने अनुमति पाएको शिखर साकोसका अहिले गरामनी र राजगढमा सेवा केन्द्रहरु सञ्चालनमा आइसकेका छन् । 

शिखर साकोसको सेवा यत्तिमा सिमीत छैन । बिर्ताबजारमा अत्याधुनिक पसल सञ्चालनमा ल्याएर आफ्ना सदस्यसहित स्थानीय बासिन्दालाई गुणस्तरीय बस्तु बिक्री गर्दै आएको शिखर बजारको स्थापनाले सहकारीको चिनारीलाई अझ फराकिलो बनाउन सहयोग गरेको छ । भवन निर्माण र फर्निचरहरु बाहेक करिब ६० लाख रुपैयाँको लगानी रहेको शिखर बजारबाट दैनिक ७५ हजार रुपैयाँ हाराहारीको व्यापार हुने गरेको पसल व्यवस्थापन समितिका संयोजक अनन्त लुईंटेल बताउनु हुन्छ । 

शिखर सहकारीमा आवद्ध सदस्यहरु एवम् शिखर साकोसको पनि शेयर लगानी गरेर सञ्चालनमा ल्याइएको शिखर बजार प्रवेश गरेपछि उपभोक्ताले आफूलाई आवश्यक परेको सबै किसिमको सामग्री एकै ठाउँमा पाउने व्यवस्था मिलाइएको संयोजक अनन्त लुईंटेल सुनाउनु हुन्छ । 

शिखर साकोसका अभियन्ता समूहले गरेको अर्को नमूनायोग्य काम शिखर कृषि परियोजना हो । परियोजना अन्तरगत बिर्तामोड नगरपालिका ८ हर्चनामा १५ कठ्ठा जमिन किनेर गाई, बाख्रा र कुखुराको गोठ व्यवस्थापन गरिएको छ । हाल गाई गोठमा २० गाई र १५ बाच्छा बाच्छी छन् भने जमुनापारी र लोकल जातका सयवटा हाराहारी बाख्रापाठा पालिएका छन् । 

शिखर साकोसको ५० लाख रुपैयाँ र ११ जना अभियन्ताको ७० लाख रुपैयाँ गरी एक करोड २० लाख रुपैयाँबाट सुरु गरिएको परियोजनाको पूँजी हाल डेढ करोड बराबरको रहेको परियोजनाका व्यवस्थापक धर्मेन्द्र सिटौला बताउनु हुन्छ । 
कृषि परियोजनाको सञ्चालनबाट अभियन्ताहरुले आर्थिक फाइदा लिन नसके पनि चार जनालाई प्रतक्ष्य रोजगारी दिएको तथा विदेश जान चाहने युवालाई स्वदेशमा नै काम गरेर प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको परियोजनाका सचिव तथा व्यवस्थापक धर्मेन्द्र सिटौला बताउनु हुन्छ । 

कृषि परियोजनाको स्थापनाकालदेखि गोठको व्यवस्थापन, रेखदेख र स्याहार सम्हारमा कर्मचारी मेदप्रसाद पौडेल दैनिक २५० लिटरसम्म दूध उत्पादन भएको सुनाउनु हुन्छ । उहाँ गाईमा लाग्ने रोगहरुमध्ये थुनेलोका कारण दूध उत्पादन घट्ने गरेको बताउनुहुन्छ ।
सेवामा उत्कृष्ट भन्ने शिखर साकोसको नारालाई चरितार्थ बनाउने लक्ष्य राखेर काम गर्दै आएको संस्थाले वित्तीय सेवा, कृषि परियोजना र शिखर बजारको सञ्चालनलाई जिल्लाकै रचनात्मक कार्य गर्ने सहकारीको रुपमा पनि हेर्ने गरिएको छ । 

यसैको परिणमस्वरुप झापा जिल्ला सहकारी संघबाट शिखर साकोस वर्ष उत्कृष्ट सहकारीका रुपमा २०७१ सालमा सम्मानित पनि भएको छ । शिखर साकोसले उत्पादन गरेको सहकारी गीतहरुको संगालोलाई पनि संस्थाको रचनात्मक कामको सूचिमा राखेर हेर्न सकिन्छ । संस्थाका अध्यक्ष दिपेन्द्र राउत आज देशैभरका सहकारी अभियानमा आफ्नो उत्पादन गुञ्जने गरेकोमा गौरव अनुभूति गर्नुहुन्छ ।
 
शिखर साकोसको जस्तै विभिन्न परियोजनाहरु अघि सारेर सहकारी संस्थाले वित्तीय कारोबार मात्रै गर्छन् भन्ने आरोपको व्यवहारिक खण्डन गर्न अरु सहकारीहरुका लागि पनि आवश्यक भइसकेको छ ।

प्रतिकृया दिनुहोस