'सहकारी ऐन २०७४ पनि अझै पूर्ण छैन' : लक्ष्मीप्रसाद उप्रेती


प्रकाशित मिति : २०७४ ,फाल्गुन , १९ 13:37:46

उपाध्यक्ष, एनएमसी झापा

32649-20180303133746.jpg

सहकारी ऐन २०७४ ले सहकारीहरुलाई पार्ने प्रभावहरु कस्ता छन् ?

विशेषगरी ऐन र कानूनहरु गतिशिल हुन्छन्, आफैंमा कहिल्यै पूर्ण पनि हुँदैनन् । तत्कालिन अवस्थामा २०४८ सालमा सहकारी ऐन आउँदा एसियाकै उत्कृष्ट भनी परिभाषित गरिएको थियो । तत्कालिन अवस्थामा ८३० वटा मात्र सहकारीहरु कार्यन्वायनमा थिए । समय अनुसार सहकारीको संख्या बढ्यो । सहकारीलाई नियमन गर्न बनाइएको २०४८ सालको ऐन समयसापेक्ष परिवर्तन हुनु आवश्यक थियो । यसैले व्यवस्थापिका संसदमा लामो समयको कसरत पछि सहकारी विधेयक २०७४ मा राष्ट्रपतिद्वारा कात्तिक १ गते प्रमाणीकरण भएपछि सहकारी ऐन २०७४ कार्यान्वयनमा आएको छ ।

निक्कै कसरत पछि बनेको यो ऐन पनि अझै पूर्ण छैन । थुप्रै आलोचना भएका छन् । सहकारी अभियानले उठाएका थुप्रै एजेण्डाहरु ऐनमा समाविष्ट छैनन् । थुप्रै अवसरहरुसँगै ऐन कार्यान्वयनमा चुनौतिहरु पनि देखापरेका छन् । यद्यपी अब बहुउद्देश्यीय प्रकृतिका सहकारी संस्थाले विभिन्न व्यावसायिक क्षेत्रतिर लाग्नु पर्ने भएको छ ।

एनएमसी त बहुउद्देश्यीय प्रकृतिको तर बैंकिङ्ग व्यवसायलाई मुख्य कारोबार बनाएको संस्था हो नि । अब कसरी ऐन कार्यान्वयन गर्नुहुन्छ ? 

हो, एनएमसी नामले बहुउद्देश्यीय भए पनि कारोबारमा बैकिङ्ग व्यावसायलाई आफ्नो मुख्य व्यावसाय बनाएको छ । र, अहिले ऐनले सिर्जना गरेको प्रवाधानलाई कसरी सम्बोधन गर्ने भन्ने कुरालाई पनि हामीले मानसिक रुपले तयार भइसकेका छौं । 

ऐनले संस्थाको विषयगत क्षेत्रलाई कार्यान्वयन गर्न तीन वर्षको समायवधि दिएको छ । त्यो समयसम्म हामी ऐनको दायरा भित्र आउने प्रयास गर्छौं । यही कुरालाई सम्बोधन गर्न मुख्य कारोबार बैकिङ्ग भए पनि दोस्रो मुख्य कारोबारको रुपमा हामीले एनएमसी डेरी उद्योग सञ्चालनमा ल्याएका छौं । यसले करिब ४ हजार किसानलाई समेटेको छ । यसलाई अगाडि बढाउँदै जाँदा किसानहरुले उत्पादन गरेको दुग्धजन्य पदार्थको बजारको सुनिश्चता र स्थानीय बजारमा दुग्धजन्य बस्तुको आवश्यकता पूरा गर्न सक्छौं । साथै दूध पाउडरको माग पनि धान्न सक्ने गरी परियोजना अगाडि बढाएको हो । 

यतिमात्र होइन, नयाँ ऐनको कार्यान्वयनमा सहयोग पुर्याउन संस्थाले नमूना कृषि परियोजना र कृषि पाठशालाको अवधारण ल्याइसकेका छौं । किसानहरुलाई प्रत्यक्ष संलग्न गराउने उद्देश्यले हाम्रो कार्यक्षेत्र भित्र उपभोक्ता भण्डार सञ्चालन गर्नेछौ । 

यस्तै स्वास्थ्यको क्षेत्रमा हाम्रो ध्यान गएको छ । साक्षरताका हिसाबले ९८ प्रतिशत रहेको हाम्रो झापा जिल्लामा क्यान्सर रोगीको संख्या दिनहुँ बढिरहेको छ । यसको न्यूनीकरणका लागि अभियान चलाउँछौं । अर्थात्, बहुउद्देश्यीय सहकारीहरुलाई नयाँ ऐनले अप्ठ्यारो पार्ने भन्दा पनि चुनौतिपूर्ण अवसर प्रदान गरेको मलाई अनुभूति भएको छ ।

त्यसो भए एनएमसीको अबको मुख्य व्यवसाय के हुनेछ ?

अहिलेको मुख्य व्यावसाय बचत तथा ऋण भए पनि अब केही समय पछि सहायक व्यावसायको रुपमा बचत तथा ऋण हुनेछ भने बहुउद्देश्यीय भएका कारणले अन्य कृषि परियोजना नै मुख्य व्यावसाय हुनेछन् । जुन अहिलको सहकारी ऐनको मर्मअनुसार नै हुनेछ । चरित्र र प्रक्रियाका हिसाबले एनएमसी बहुउद्देश्यीय नै हो र यस्ले निरन्तरता पनि पाँउछ ।

संविधानले सहकारीको नियमन तथा नियन्त्रणका लागि नयाँ क्षेत्राधिकार निर्धारण गरेको छ । यस्तो अवस्थामा जिल्लाभरका स्थानीय तहले बनाउने ऐन कस्तो हुनुपर्छ ?

संविधान जारी भएपछि मुलुक संघीय ढाँचामा गएको छ । तीनवटा तहमा सरकार निर्माण भएको छ । तीनवटै तहले गर्ने काम, कर्तव्य र अधिकार निर्धारण गरेको छ । तीनैवटा तहले सहकारीलाई हेर्ने र स्थानीय तहले सहकारी ऐन निर्माण गर्नुपर्ने प्रावधान थपिएको छ । 

तर, नेपाल अहिले कानूनी संक्रमणको चरणमा छ । संविधान अनुरुप सबै कानूनहरु निर्माण भएका छैनन् । यस्तो अवस्थामा प्रत्येक तहले सहकारी ऐन बनाउनु पर्ने व्यवस्थालाई कार्यानवयन गर्न सक्छन् । झापाका १५ वटै स्थानीय तहले आआफ्नो भौगोलिक र राजनीतिक वस्तुस्थिति अनुसार पृथक–पृथक ढङ्गले ऐनको मस्यौदा गर्न सक्छन् । यस्तो परिस्थितिमा जिल्ला–जिल्लाका सहकारीका छाता सङ्गठनले ध्यान दिनुपर्छ । 

जिल्लाका सबै स्थानीय तहका नेतृत्वहरु एकै ठाउँमा भेला हुने वातावरण जिल्ला संघ र विषयगत संघहरुले मिलाउनु पर्दछ । र, सबैलाई मान्य हुने एवम् सहकारी अभियानलाई सकारात्मक मार्गमा डोहोर्याउने किसिमको ऐन बनाउन जुट्नु पर्ने हुन्छ । र, जनप्रतिनिधिहरुले पनि स्थानीय क्षेत्रमा सबैभन्दा ठूलो सञ्जाल सहकारीको भएकाले विशेष ध्यान दिन जरुरी छ । 

अन्त्यमा, एनएमसीको उपाध्यक्ष तथा कार्यकारी प्रमुख एवम् राष्ट्रिय सहकारी बैंकको लेखा सुपरीवेक्षण समिति सदस्यको हैसियतले आम सहकारीकर्मीलाई केही भन्नु हुन्छ कि ?

सहकारी संस्थाको कारोबार, कार्यालय भवन कत्रो छ भन्ने मात्र होइन, आफ्ना सदस्यको जीवनस्तर माथि उकास्न र समाजमा सकरात्मक परिवर्तन ल्याउन कस्तो भूमिका खेलेको छ ? उनीहरुको सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा परिवर्तन ल्याउन सक्यो या सकेन ? यो महत्वपूर्ण कुरा भएकाले प्रभाव पार्न सक्ने खालको कार्यक्रममा केन्द्रित हुन सहकारी अभियान्ता र सहकारीकर्मीहरुलाई आग्रह गर्दछु । आफूले कारोबार गर्ने सहकारीलाई प्राथमिकतामा राखौँ । र, यसबाटै कारोबारहरु गर्ने बानीको विकास गरौं । सदस्यले सहकारीलाई माया गर्न सक्ने बनाउन सक्यौं भनेमात्र सहकारीले दीर्घकालीन लक्ष्य हासिल गर्न सक्छ ।

प्रतिकृया दिनुहोस