बी एण्ड सी अस्पतालका सञ्चालकको मानवीयताः विपन्नले निशुल्क उपचार पनि पाउँदै


गोपाल काफ्ले , प्रकाशित मिति : २०७४ ,फाल्गुन , १८ 08:09:07

32627-20180302080907.jpg

बिर्तामोड । मानिस सम्पन्न छ, धनी छ तर मन चाहिँ तन्नम गरिब भएमा त्यसले समाजलाई के पो देला र ? जीवनमा विपन्नताले गाँजिरहेको छ, बिहान बेलुकाको हात जोर्न र परिवार पाल्नै धौ धौ छ र पनि उ भित्रको मन धनी भए समाजमा उसलाई हेर्ने नजर नै फरक हुन्छ । धनी र गरिब शब्दसँग जोडिएको यो प्रसङ्ग पूँजीमा मात्र सिमित नराखी मानवीय मनसँग जोडिदिने हो भने पक्कै पनि सार्थक हुनेछ ।

सन्दर्भ हो, झापाको मेचीनगर १३ का ५ वर्षीय समिर उप्रेतीलाई भएको हर्नियाको र उपचारका लागि अस्पतालहरुले गरेको व्यवहारको । समिरकी आमा सिता (३२) लाई स्तन क्यान्सर भएको छ । उनको अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचार चलिरहेको छ । केमोथेरापीको छैटौं डोज चडाई सकिएको छ । बाबु रमेशप्रसाद (३४) वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा तीन वर्ष बसे । तर कम्पनीले तोकिएजति तलब पनि नदिई कामदारलाई लगभग बिचल्ली बनाएर कम्पनी बन्द भयो । उनलाई यतैबाट पैसा पठाएर उद्धार गरी नेपाल फर्काउनु पर्यो । अहिले बाबु, आमा र छोरा एकैसाथ त छन् तर सबैको आफ्ना आफ्नै पीडा लिएर बाँचिरहेका । 

नियतिले पनि एउटै परिवारलाई किन यस्तो परीक्षा लिइरहेको होला ? उप्रेती परिवारको पीडामा मल्हमपट्टी गरिदिने धन र मन दुवै भएको कोही त होला ! रमेशले विदेशमा कमाएको अलिकति रकम पहिले नै घर पठाएका थिए । त्यही रकमले सिताको उपचार चलिरहेको थियो । यही बीचमा समिर पनि बिरामी परे पाँच वर्षको कलिलो उमेरमा नै, त्यो पनि मेजर अपरेशन केश । 

श्रीमतीको उपचार गर्न नै रकम अपुग भइरहेको बेला छोराको पनि हर्नियाको शल्यक्रिया गर्नुपर्ने भएपछि रमेशलाई पीडा माथि पीडा थपियो । ‘बिर्तामोडस्थित मनमोहन अस्पतालमा चेकजाँच गराउँदा रोग पत्ता लाग्यो, अप्रेशन गर्नुपर्ने डाक्टरले बताए । रकम कति लाग्छ भनेर जिज्ञासा राख्दा धेरै ठूलो खर्च हुने अनुमान सुनाइयो’ रमेशले भने, ‘सरकारी भएकाले मेची अञ्चल अस्पतालमा लिएर गएँ, तर त्यहाँ पनि निक्कै पैसा लाग्ने रहेछ, जुन तत्काल आफूले जुटाउन सक्ने सामाथ्र्य छैन ।’ 

‘अञ्चल अस्पतालमा छोराको शरीरमा पलाएको हर्नियाको शल्यक्रिया गराउन चन्दा उठाउने कुरा पनि नभएको होइन’ रमेशले थपे ‘तर हाम्रो पीडालाई नजिकैबाट बुझिरहेकी बी एण्ड सी अस्पतालमा काम गर्ने स्टाफ नर्स प्रतिमा सिग्देलले अस्पतालसँग कुरा गरेर आफ्नो छोराको निशुल्क उपचार सम्भव भएको छ ।’

अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले बच्चाको हर्नियाको उपचार र शल्यक्रिया सामाजिक उत्तरदायित्वको सिद्धान्तमा आधारित रहेर गरिएको मात्र नभई परिवारको दयनीय अवस्थालाई बुझेर मानवीयता प्रकट गरिएको बताएका छन् । 

सुबिधा सम्पन्न अस्पतालमा शल्यक्रिया गराउँदा एक लाख रुपैयाँ हाराहारी खर्च हुने हर्नियाको शल्यक्रिया बी एण्ड सी ले निशुल्क गरिदिएको हो । छोराको सफल उपचारपछि उप्रेती परिवारलाई राहत महसुस भएको छ । ‘बी एण्ड सी अस्पताल महङ्गो भनेर आउन डर लागेको थियो, तर यही अस्पतालले हाम्रो पारिवारिक एवम् आर्थिक अवस्था बुझेर छोराको निःशुल्क उपचार गरिदियो’ समिरकी आमा सिताले भनिन् । 

तीन हप्ता अघि स्टाफ नर्स प्रतिमा सिग्देलको साथमा अस्पताल ल्याइएका बालक अहिले उपचार पछि घर फर्किएका छन् । समिरको उपचारमा संलग्न चिकित्सक रोहितप्रसाद यादवले समयमा नै शल्यक्रिया गरिएकाले बच्चाको स्वास्थ्य राम्रो भएको बताए ।

“अस्पतालले निःशुल्क उपचार गरिदिँदा परिवार हर्षित भए, बच्चाले समयमा उपचार पनि पाए, अन्य अस्पतालमा लैजाँदा लाख रुपैयाँसम्म खर्च हुने थियो” डाक्टर यादवले भने । 

‘बी एण्ड सी अस्पताललाई महङ्गो छ, त्यता नजाउ भनेर गलत सल्लाह र प्रचार गरिँदैछ’ अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले भने ‘तर त्यस्तो होइन, हामी न्यून आर्थिक अवस्था भएकाको निःशुल्क उपचार पनि गरिदिन्छौं । यसअघि पनि मैले भनेको थिएँ १२ करोड रुपैयाँभन्दा बढी रकम उपचार निःशुल्क गरिदिए वापत हाम्रो खर्च भएको थियो ।’ 

कार्यकारी निर्देशक प्रसाईंले थपे ‘सामाजिक उत्तरदायित्वका लागि आफ्नो अस्पतालमा उपचार गराएका मात्र परेका छैनन्, आर्थिक अवस्था कमजोर भएकाहरु अर्को अस्पतालमा उपचार गराएर पैसा बुझाउन नसकी लगभग बन्धक नै बनेको समयमा उपचार खर्च व्यहोरेर घर पनि पठाएका छौं ।’ 

डा. यादवले भने, ‘बी एण्ड सी अस्पतालले आधुनिक उपकरणबाट गुणस्तरीय सेवा दिने भएकाले तुलनात्मक रुपमा छिट्टै बिरामी निको हुने र यही गुणस्तरको उपचारका लागि अन्यत्र जाँदा समय र अन्य खर्च जोड्दा योभन्दा दोब्बर बढी खर्च आउने गर्छ ।’ 

उपचार तरिका र खर्चका बारेमा अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले भन्ने गरेको एउटा सन्दर्भ यहाँ जोड्न उपयुक्त छ । झापाबाट काठमाडौंसम्म जाने धेरैवटा तरिका छन् । रात्री बस चढ्दा हुन्छ, दिउँसो ३ बजे गाडी चढेको मान्छे भोलिपल्ट बिहान ९ बजेतिर पुगिन्छ । भाडा १३०० रुपैयाँ, खाना खाजा करिब ७०० गरी एकजनाको २००० पर्छ । गलेर लखतरान परिन्छ । अर्कोतर्फ दिवा बसमा बिहान ५ बजे चढे बेलुका ८ बजेसम्म काठमाडौं खाल्डो पुगिन्छ । भाडा उत्ति नै पर्छ तर खाना खाजा खर्चमा रकम जोगिन्छ । अनि समय पनि थोरै लाग्छ । बर्दिबास सिन्धुलीको बाटो भएर जाने हायस माइक्रोबसमा गइयो भने बिहान ७ बजे गाडी चढ्ने बेलुका ७ बजे उत्रने, समयको बचत । भाडा लगभग उस्तै उस्तै । 

अब झापाबाट निजी गाडीमा आफ्नै अनुकूलतामा काठमाडौं जाँदा समय र खर्च पनि सोहीअनुसार हुने गर्छ भने भद्रपुरबाट जहाज चढेर काठमाडौं जान २ घण्टा समय छुट्याए पुग्छ । करिब ६ हजार रुपैयाँ हाराहारीमा टिकट र २ घण्टाभित्रै काठमाडौं पुगिन्छ । समयको बचत, गुणस्तरीय सेवा । यही कुरा बी एण्ड सी मा पनि लागू हुन्छ । गुणस्तरीय सेवा तथा छिटो उपचार पद्धति बी एण्ड सीको प्रतिवद्धता हो । 

भारतका ठूला सहरहरुमा दिइने चिकित्सकीय सेवा र गुणस्तरीय प्रयोगशालाले बि एण्ड सीको गरीमालाई बढाउँदै लगेको भए पनि उपचार खर्च महङ्गो हुने बाहिरी चर्चा गलत भएको कार्यकारी निर्देशक प्रसाईंले दाबी गरेका छन् । 

प्रतिकृया दिनुहोस