बिएण्डसीमा क्यान्सर उपचारका लागि अत्याधुनिक मेसिन ल्याइँदै


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १७ 06:27:59

32595-20180301062759.jpg

झापा । बिर्तामोडमा तीन वर्ष अघिदेखि सञ्चालन गरिएको बी एण्ड सी अस्पतालले अत्याधुनिक ल्यावसहित उपकरण भित्र्याएर नेपालकोमात्र होइन, दक्षिण एशियाको नै ध्यान केन्द्रित गर्न थालेको छ ।

अस्पताल मातहत आगामी असारदेखि सञ्चालनमा ल्याउन लागिएको पूर्वान्चल क्यान्सर अस्पताल प्रालिका लागि अत्याधुनिक उपकरण भित्र्याउन अमेरिकास्थित भेरियन मेडिकल सिस्टमसँग सम्झौता भएको हो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईं र भेरियन्स मेडिकल्स सिस्टमका दक्षिण एसिया म्यानेजर बिनित गुप्ता तथा आनन्दकुमार सिंहबीच अत्याधुनिक उपकरण ल्याउने विषयमा हालै सम्झौता भएको हो।

अस्पताल परिसरमा बुत्रबार आयोजित पत्रकार सम्मेलनमा दक्षिण एशियामै पहिलोपटक अत्याधुनिक उपकरण भित्र्याउन लागिएको दाबी गर्दै अब क्यान्सरका बिरामीले उपचारका लागि विदेश जानु नपर्ने कार्यकारी निर्देशक प्रसाईंले बताए। क्यान्सर रोगको उपचार तीन तरिकाबाट हुने जानकारी गराउँदै अस्पतालले रेडियो थेरापी प्रविधिका लागि अत्याधुनिक मेसिन भित्र्याउने तयारी गरेको हो ।

अमेरिकामा पनि छ महिना अगाडिमात्र सुरु गरिएको हेल्सियोन र ट्रुबिम, फोर डी सिटी स्क्यान र डिजिटल मेमोग्राम मेसिन, ब्रेकी थेरापी पूर्वाञ्चल क्यान्सर अस्पतालले भित्र्याउन लागेको हो ।

हेल्सियोन मेसिन भारतका ठूला मानिएका अस्पतालहरुमासमेत नभएको उक्त कम्पनीका म्यानेजर विनित गुप्ताले जानकारी दिए । उक्त मेसिन ल्याउन अस्पतालले ९० करोड रुपैंयाँमा सम्झौता गरेको कार्यकारी निर्देशक प्रसार्इंले बताए।

३०० शैयाको अस्पतालले सबै प्रकारको क्यान्सरको उपचार गर्ने बिएण्डसी अस्पतालका  क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्रकुमार यादवले जानकारी दिए । यी उपकरण आएपछि क्यान्सरको रेडियसन लगाउने र कुन चरणको क्यान्सर लागेको भन्नेबारे त्यसैअनुसार उपचार गर्न सकिने उनले विश्वास दिलाए । 

डा. यादवले यी उपकरण आएपछि ३ दिनदेखि ५ दिन भित्रमा क्यान्सरको उपचार हुने र महिनौंसम्म अस्पतालमा बस्नु नपर्ने जानकारी दिएका छन्।

पूर्वान्चल क्यान्सर अस्पताल आगामी असारबाट सेवा सुरु गर्ने लक्ष्यका साथ निर्माण भइरहेको र चार महिनाभित्र सम्पूर्ण उपकरणसमेत आइसक्ने अस्पतालले जनाएको छ। क्यान्सर अस्पताल सञ्चालनका लागि करिब ३०० करोड रुपैयाँ लगानी हुने अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले बताए ।

बिभिन्न विशेषज्ञ सेवासहित उपचार गर्दै आएको अस्पतालले क्यान्सरको मात्रै छुट्टै अस्पताल नै सञ्चालमा ल्याउन लागेको अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले जानकारी दिए । 

हाल झापासहित इलाम, पाँचथर, ताप्लेजुङ्ग, मोरङ्ग, सुनसरी तथा भारतका बिभिन्न स्थानबाट उपचारका लागि बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ।

प्रतिकृया दिनुहोस