सिम्रिकका सदस्यलाई सहकारी शिक्षा


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १६ 21:07:18

32592-20180228210718.jpg

बनियानी । झापाको उत्कृष्ट सहकारीमध्येको एक बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना यस क्षेत्रका सदस्यहरुलाई आज सहकारी शिक्षा प्रदान गरेको छ । संस्थाले यस वर्षको सहकारी शिक्षा कार्यक्रम बनियानी सेवा केन्द्रबाट शुरु गरेको जनाइएको हो ।
 
बुधबार बनियानीस्थित सामुदायिक भवनमा कचनकवल वडा नं ६ का वडाध्यक्ष कूलबहादुर कार्कीले सो सहकारी शिक्षा प्रशिक्षणको उद्घाटन गरे । संस्थाको शिक्षा उपसमितिका संयोजक तथा संस्थाका सचिव सुवास भट्टराईको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाले वर्षेनि सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्नुको उद्देश्यमाथि प्रकाश पारे । सबै सदस्यले संस्थाको समग्र अवस्था, सहकारी मूल्य–मान्यता, ऐन, नीति नियम जान्न आवश्यक रहेको अध्यक्ष बस्नेतले बताए । उनले सदस्यहरुलाई संस्थाको माघ मसान्तसम्मको वित्तीय अवस्थासमेत जानकारी गराए ।

संस्थाका विभागीय प्रमुख मीनबहादुर अधिकारीले सञ्चालन र सदस्य विजय बस्नेतले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि कार्कीले ग्रामीण क्षेत्रमा सहकारीहरुको उपस्थितिले स्थानीय साना व्यवसायी, उद्यमी महिला, किसानहरुलाई निकै सहज भएको भन्दै सिम्रिकले बनियानी क्षेत्रमा दिइरहेको वित्तीय तथा सामाजिक सेवाको प्रशंसा गरे । 

कार्यक्रमका प्रशिक्षक डिभिजन सहकारी कार्यालय भद्रपुरका नासु डिल्ली दाहालले सहकारीको नयाँ ऐन कार्यान्वयनमा आइसकेकोले सबै सदस्यले ऐन अध्ययन गर्नुपर्नेमा जोड दिए । सदस्यहरुलाई दाहाल र संस्थाका अध्यक्ष बस्नेतले प्रशिक्षण दिएका थिए ।

झापाको उत्कृष्ट १० मध्येको एक सिम्रिक सहकारीले झापाभर १२ वटा सेवा केन्द्रमार्फत सहकारी तथा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । सहकारी शिक्षा सबै सेवा केन्द्रमा सञ्चालन गरिने संयोजक भट्टराईले जानकारी दिए । 

संस्थाको माघ मसान्तसम्मको विवरण अनुसार सहकारीतर्फ शेयर सदस्य संख्या १५ हजार ३०६ जना पुगिसकेका छन् भने शेयर पूँजी ४ करोड २२ लाख २७ हजार पुगेको छ । यस अवधिसम्ममा २८ करोड ८१ लाख ७४ हजार १३४ रुपैयाँ निक्षेप संकलन भएको छ भने ३९ करोड ९४ लाख ७२ हजार १८७ रुपैयाँ लगानी गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस