राजश्व संकलनमा लक्ष्य चुम्दै मेची भन्सार कार्यालय


लक्ष्मी उप्रेती , प्रकाशित मिति : २०७४ ,फाल्गुन , १६ 13:11:15

32584-20180228131115.jpg

झापा । मेची भन्सार कार्यालय काँकरभिट्टाले संकलन गर्ने राजश्वको मुख्य हिस्सा ओगटेको पेट्रोलियम पदार्थ र बंगालादेशमा उत्पादित पेय तथा खाद्य पदार्थको आयात बढेसँगै राजश्व अुसलीसमेत बृद्धि भएको छ । 

काँकरभिट्टा भन्सारले संकलन गर्ने कूल राजश्वको ४० प्रतिशत पेट्रोलियम पदार्थले ओगटेको छ भने बंगलालेशबाट आयातित पेय पदार्थ, खाद्य बस्तुलगायतले पनि कूल राजश्वको ४० प्रतिशत हाराहारी स्थान ओगटेको भन्सार कार्यालयले जनाएको हो । 

पछिल्लो समय राजश्व संकलनमा बृद्धि हुनुपर्ने मुख्य कारण पेट्रोलियम पदार्थ र बंगलादेशमा उत्पादित वस्तुको आयातमा वृद्धि नै भएको भन्सार अधिकारीहरुको भनाई छ  । 

आर्थिक वर्ष २०७४/७५ को शुरुवाती महिनामा कार्यालयलाई लक्ष्यको तुलनामा प्रगति गर्न धौधौ थियो । आर्थिक वर्षको शुरुका दुई महिना साउन र भदौमा कार्यालयले लक्ष्यको तुलनामा राजश्व असुली गर्न सकेको थिएन । 

कार्यालयको तथ्याङ्क अनुसार साउनमा १६ दशमलव ७० प्रतिशत र भदौमा ५ दशमलव ७ प्रतिशत राजश्व गुमाएको थियो । ६४ करोड ४६ लाख ४० हजार रुपैयाँ राजश्व असुली गर्नुपर्ने दबाव भए पनि कार्यालयले साउनमा ५३ करोड ६९ लाख ६३ हजार ९३२ रुपैयाँ (८३ दशमलव ३० प्रतिशत)मात्र राजश्व असुली गरेको थियो ।

यस्तै, भदौ महिनामा ७३ करोड ६७ लाख ३१ हजार असुल गर्नुपर्नेमा ६९ करोड २७ लाख १९ हजार ८६१ रुपैयाँ (९४ दशमलव ०३ प्रतिशत)मात्र राजश्व संकलन गरेको तथ्याङ्क छ । 

‘शुरुमा भारततर्फ पार्किङको उचित व्यवस्थापन नहुँदा लामो समयसम्म क्यूमा बस्नु पर्ने, त्यसकारण अन्तैबाट रुट परिवर्तन गरेर आउनुपर्ने समस्या थियो’ प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले भने ‘भारत, बंगलादेश भुटान र नेपालबीचको बैठकमा यस्ता अत्यावश्यक पदार्थलाई ‘फस्ट इन फस्ट आउट’ गर्ने निर्णयसँगै अहिले तत्काल निर्वाधरुपमा पेट्रोलियम पदार्थको आयात सहज भएकोले राजश्व असुलीमा पनि उल्लेखनीय प्रगति भएको हो ।’ 

कार्यालयको तथ्याङ्क शाखाका अनुसार चालु आर्थिक वर्ष २०७४/०७५ को माघ महिनासम्ममा पेट्रोलियम पदार्थबाट मात्रै २ अर्बभन्दा बढी राजश्व संकलन भएको छ । कार्यालयले असोजमा लक्ष्यको तुलनामा १३ प्रतिशत बढी राजस्व संकलन गरेको थियो । 

असोज महिनामा ६४ करोड ४६ लाख ४० हजार रुपैयाँ राजश्व असुली गर्नुपर्ने भएपनि ७२ करोड ८८ लाख ९६ हजार ९९८ रुपैयाँ (११३ दशमलव ०७ प्रतिशत) राजस्व संकलन गरेको थियो । 

त्यसपछिका कात्तिक र मंसीर महिनाको राजश्व असुलीमा पुनः गिरावट आउन थालेको थियो । ती दुई महिना नै भन्सार कार्यालयले लक्ष्यको तुलनामा राजश्व असुली गर्न नसकेको अधिकारीहरु बताउँछन् ।

कात्तिक र मंसीर महिनामा कार्यालयलाई भन्सार विभागले ७३ करोड ६७ लाख ३१ हजार लक्ष्य दिएको थियो । तर, कात्तिकमा ६५ करोड ७० लाख ८४ हजार ८७२ रुपैयाँ (८९ दशमलव १९ प्रतिशत) र मंसीरमा ६७ करोड ७६ लाख ५४ हजार ८१ रुपैयाँ (९१ दशमलव ९८ प्रतिशत) राजश्व संकलन गरेको थियो । 

अघिलो दुई महिनामा कार्यालयले लक्ष्यको तुलनामा राजश्व असुली गर्न नसकेपछि विभागले पुष र माघ महिनामा सोही लक्ष्यलाई यथावत राख्यो । तर, पुषमा ८७ करोड १९ लाख ७० हजार ३८३ (११८ दशमलव ३६ प्रतिशत) र माघमा ९४ करोड ८७ लाख ८०९ रुपैयाँ (१२८ दशमलव ७७ प्रतिशत) राजश्व संकलन गरेको तथ्याङ्क छ । 

चालू आर्थिक वर्ष २०७४/०७५ माघ मसान्तसम्म विभागले कार्यालयलाई ४ अर्ब ९७ करोड २९ लाख ३५ हजार राजश्व असुलीको लक्ष्य दिएको थियो । सो अवधिमा काँकरभिट्टा भन्सार कार्यालयले ५ अर्ब ११ करोड ३९ लाख ९० हजार ९३६ रुपैयाँ राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत अर्यालले जानकारी दिए । 

चेकजाँच र मूल्याङ्कनमा कडाई, चोरी पैठारी रोक्न नाकामा उच्च सतर्कता अपनाउनु, लिलामी प्रक्रियालाई तीब्र पार्नु, वेरुजु असुलीलाई तीब्रता दिनुले पनि राजश्व असुली सन्तोषजनक रहेको भन्सार अधिकारीहरु दाबी गर्छन् । विभागले कार्यालयलाई चालू आर्थिक वर्ष २०७४/०७५ मा ९ अर्ब २० करोड ९१ लाख ३८ हजार रुपैयाँ लक्ष्य दिएको छ । 

प्रतिकृया दिनुहोस