काठमाडौमा सुरु भयो एप्रिकोट २०१८


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १२ 20:59:49

32485-20180224210247.jpg

काठमाडौं । विश्वभरबाट एक हजार जनाभन्दा बढी प्रतिनिधि सहभागी एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) नेपालमा सुरु भएको छ । सम्मेलनको औपचारिक उद्घाटन आइतबार याक एन्ड यति होटलमा हुँदैछ । 
 
एप्रिकोटको २२ वर्षे इतिहासमा सबैभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको समिटको संयोजन इन्टरनेट एक्स्चेन्ज नेपाल (एनपीआइएक्स) ले गरेको हो । सम्मेलनको आयोजना एशिया प्यासिफिक इन्टरनेट एसोसिएसन (एपीआइए) र एशिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपीएनआइसी) ले संयुक्तरुपमा गरेका हुन् । 

सम्मेलनमा ६५ देशका इन्टरनेटको पृष्ठभूमिमा बसेर काम गर्ने प्रतिनिधिको सहभागिता रहेको एनपीआइएक्सका अध्यक्ष गौरवराज उपाध्यायले जानकारी दिए । एप्रिकोट सुरु हुँदा सुरुसुरुमा केही सीमित इन्जिनियरहरु सहभागी हुन्थे । पछिल्लो समय नीति निर्माण तहमा रहेकाहरुसमेत सहभागी हुन थालेकाले यति ठूलो इभेन्ट हुन थालेको हो । 
 
एप्रिकोटको पहिलो चरणमा सूचना प्रविधि क्षेत्रका विज्ञहरुले इन्टरनेट अफ थिङ्स, सुरक्षा, नेटवर्क व्यवस्थापन र राउटिङ विषयमा प्रशिक्षण दिएका छन् । तालिममा १९० जनाको सहभागिता थियो । 

सम्मेलनमा ग्लोबल इन्टरनेट टेक्नोलोजीका विविध विषयमा छलफल हुने उपाध्यायले जानकारी दिएका छन् । सम्मेलनमा इन्टरनेट जाइन्ट कम्पनीहरु गुगल, फेसबुक ट्वीटरलगायतका प्रतिनिधिहरु पनि सहभागी हुन आइपुगेका छन् । 

सम्मेलनको प्रमुख वक्ता भिप्टेलाका सहसंस्थापक अमिर खान हुनेछन् । भिप्टेला अल्टरनेटिभ नेटवर्किङ कम्पनी हो । यसलाई गत वर्ष ग्लोबल जाइन्ट कम्पनी सिस्कोले ८०० मिलियन डलर (करिव ८० अर्ब रुपैयाँं) मा किनेको हो ।


 
त्यस्तै समापनमा प्याकेट फेब्रिकका सहसंस्थापक विल चार्नोकले आफ्नो मन्तब्य राख्नेछन् । विलले सफ्ट लेयरका लागि नेटवर्क बनएका थिए । यसलाई आइबिएमले सन् २००८ मा खरिद गरेको थियो । 

यस्तै म्यागासेसे विजेता महाबिर पुनले भविष्यका स्मार्ट सिटीहरु कस्तो हुनेछन् भन्ने बारे आफ्नो धारणा राख्नेछन् । 

सम्मेलन १० दिनसम्म चल्नेछ । त्यसमध्ये ५ दिनसम्म सम्मेलनपूर्वका कार्यशाला भइसकेका छन् । वर्कसप सकिएपछि सेक्योर राउटिङ, सफ्टवेयर डिफाइन्ड नेटवर्किङ (एसडिएन) र नेटवर्क फङ्सन भच्युअलाइजेसन (एनएफभी)मा केन्द्रित रहेर सम्मेलन निरन्तर हुनेछ । 

प्रतिकृया दिनुहोस