कृषिमा आधुनिकीकरण सौर्य प्रविधिबाट सिंचाई


द्रोण अधिकारी, प्रकाशित मिति : २०७४ ,फाल्गुन , ६ 10:55:06

32333-20180218105506.jpg

भद्रपुर । कृषिमा यान्त्रिकीकरण तथा व्यवसायिक वातावरणका लागि कार्य गर्दै आइरहेको धान सुपर जोन बनियानी झापाले सिञ्चाइमा नयाँ प्रविधि भित्र्याएको छ । सुपर जोनले सिञ्चाइमा लागत कम गराई भूमिगगत पानी तान्न आधुनिक सौर्य उर्जा प्रविधि मार्फत नयाँ विधिको सुरुवात गरेको हो ।

ग्रामीण कृषि क्षेत्रमा विद्युतीकरण विस्तारमा लागत तथा समय बढी लाग्ने देखिएपछि सुपर जोनले स्थीर विद्युतीकरण र दीर्घकालिन लागत घटाउने प्रविधि सौर्य उर्जालाई कृषकका खेतवारीमा यस वर्षबाट ल्याएको छ । यो प्रविधिका लागि ५ लाख प्रति बोरिङ खर्च हुने छ । सुपर जोनले कम्तीमा २ बाली व्यवसायिक खेती गर्ने कृषक समूह वा कृषि सहकारीलाई छनौट गरी लागतको ८५ प्रतिशतसम्म अनुदान दिने गरी यस प्रविधिलाई कृषक समक्ष ल्याइएको हो ।

सुपर जोन सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराईका अनुसार कृषिलाई प्रतिष्पर्धी व्यवसायका रुपमा विस्तार गर्न यान्त्रिकीकरणमा कृषकको पहुँच कार्यक्रमका रुपमा सौर्य बोरिङ ल्याइएको हो । व्यवसायिक कृषि कार्यमा सहभागी रहेका कृषकहरुका समूह मार्फत सुपर जोनले ८५ प्रतिशत लागत रकम व्यहोर्ने तथा १५ प्रतिशत सम्बन्धितले लिने गरी छनौट प्रकृया मार्फत सौर्य पम्प वितरण गरिने भट्टराईले जनाए । उनका अनुसार ५ वटा सौर्य पम्प सुपर जोनमा आबद्ध कृषकले अनुदानमा लगिसकेका छन् ।

धान उत्पमदनमा नेपाललाई आफैँ आत्मनिर्भर बनाउन सरकारले झापाको बनियानीमा धान सुपर जोन परियोजना गठन गरी काम गरिरहेको छ । दुई वर्षयता परियोजनाले कृषिमा यान्त्रीकीकरणका लागि विभिन्न नयाँ नयाँ प्रविधि ल्याएर व्यवसायिक कृषिको उत्थानका कामहरु गरिरहेको छ ।

प्रतिकृया दिनुहोस