नाटा पूर्वाञ्चल अध्यक्षमा श्रेष्ठ, महसचिवमा काउन्सिलका नविन


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , ४ 07:31:52

32285-20180216073152.jpg

भद्रपुर । पर्यटन व्यवसायीहरुको संगठन नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) पूर्वाञ्चलको अध्यक्षमा भूपालराज श्रेष्ठ निर्वाचित भएका छन् ।
 
बिहीबार भद्रपुरमा भएको चौथो अधिवेशन तथा सातौं वार्षिक साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका प्रत्यासी भूपालमान बस्नेतलाई पराजित गर्दै श्रेष्ठले विजय हात पारेका हुन् । 

कार्य समितिको प्रथम उपाध्यक्षमा ज्ञानबहादुर नेपाल, द्वितीय उपाध्यक्षमा नुतनकुमार झा, महासचिवमा बिर्तामोडको काउन्सील ट्राभल्सका प्रोपाइटर नवराज खरेल (नविन) निर्वाचित भएका छन् । यस्तै सचिवमा पुण्य भट्टराई र कोषाध्यक्षमा ऋषि तिम्सिना सर्वसम्मत निर्वाचित भएका छन् ।

कार्य समितिको सदस्यहरुमा उदयबहादुर कार्की, गौतम साहा, सुरेन्द्र पौडेल पनि सर्वसम्मत निर्वाचित भए । 

निर्वाचनसहित अधिवेशनको उद्घाटन समारोहमा आफ्नो भनाई राख्दै हवाई कार्यालयका प्रमुख पूर्णकुमार चूडालले चन्द्रगढी विमानस्थलको स्तरोन्नति हुँदै गएको बताएका छन् । 

उनले अबको एक वर्षमा भद्रपुर विमानस्थलमा रात्रीकालिन सेवा पनि सञ्चालन हुनेगरी सेवा विस्तार गर्न लागेको र तीन महिनाभित्र एफएआर सञ्चालनमा ल्याइने बताए । 

नाटाका महासचिव रमेश थापाले टानलाई सबै प्रदेशमा पुर्याइने बताए । कार्यक्रममा नाटा पोखराका अध्यक्ष सन्तोष पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्मालगायतले मन्तव्य राखेका थिए ।

शेखर ढकालले सञ्चालन गरेको उद्घाटन समारोहको अध्यक्षता हेमराज बाँस्तोलाले गरेका थिए ।

विजयी नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष बाँस्तोलासहित नाटाका नेताहरुले बधाई दिएका छन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नाटा पूर्वाञ्चललाई एकतात्मक ढंगले चलायमान गराइने प्रतिबद्धता जनाएका छन् । 
 

प्रतिकृया दिनुहोस