शिवसताक्षी नगरपालिकाले नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले लागु गर्ने


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , ३ 22:11:43

32277-20180215221143.jpg

दूधे । शिवसताक्षी नगरपालिकाले आफ्नो प्रथम नगर सभाबाट पारित आर्थिक बर्ष २०७४।०७५ को नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले लागु गर्ने भएको छ । नगर प्रमुख चन्द्रकुमार शेर्माले नगरपालिकाको कार्यालय व्याङ्डाडामा जिल्ला समन्वय समिति झापाको अनुगमन टोलीसँग कुरा गर्दै नगरपालिकाले पारित गरेको कार्यक्रम हुबहु लागु गर्ने बताएका हुन् ।

उनले धरमपुर, पाँचगाछी, शिबगञ्ज र सतासीधामसहित ४ वटा गाविसलाई समायोजन गरेर निर्माण भएको शिबसताक्षी नगरपालिकाले पर्यटन र कृर्षि क्षेत्रको विकास र प्रवद्र्धनतर्फ जोड दिएको बताए । नगरका सबै वडाहरुलाई समेट्ने गरी रिङरोड, ट्रमरोड र पुल–कल्र्भट, सडक निर्माणका ठूला योजनालाई उच्च प्राथमिकताका साथ अघि बढाएर त्यसलाई समयमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक पहल गरिरहेको जानकारी दिए ।

रिङरोडको लागि २ करोड र ट्रमरोडका लागि १ करोड ५० लाख रुपैया छुट्याइसकेका छौं, शेर्माले भने–नगर स्तरीय खेलकुद मैदान दूधेमा, नगर स्तरीय वर्स पार्क झिलझिलेमा निर्माण गर्न नगर सभाबाट पारित भइसकेको जानकारी दिए ।

नगरपालिकाले चन्द्रडाँगीस्थित कृषि दुग्ध विकास तथा वीउ–बिजन केन्द्रलाई  कृषि उत्पादन र अध्यन–अनुसन्धानको निम्ति प्रयोगमा ल्याउन पहल गरिरहेको बताए । धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम र दोमुखालाई बनभोज र टे«किङ्गको रुपमा विकास गर्न नगर सभाबाट पारित गरिसकेको जानकारी दिए ।
कनकाई र कमल खोला वाहेक नगरक्षेत्रमा रहेका साना खोला–खोल्सीहरुले बर्षादको समयमा वर्षेनी गर्दै आइरहेको क्षतिलाई रोकथाम र नियन्त्रण गर्न नगरसभाले नीतिगत कार्यक्रम संचालन गर्ने बताए । कनकाई नदीबाट सिंचित खेतवारीबाट उत्पादन भइरहेको उत्पादकत्वलाई बृद्धि गर्न उन्नत जातका वीउ–वीजन र सीप, प्राविधिकसहित तालिम आयोजना गर्ने नगर प्रमुख शेर्माले बताए ।

त्यसैगरी भूमि व्यबस्थापन समिति, शिक्षा समिति, जनस्वास्थ्य, खेलकुद, कृषि, योजना आयोग गठन भइसकेको र सो समितिहरुले आ–आफ्नो कार्य क्षेत्रमा रहेर कार्यसम्पादन गरिरहेको बताए । नगरपालिकाले ११ वटै वडाहरुमा वडा कार्यालय स्थापनागरी इन्टरनेटको व्यवस्था मिलाई नगरपालिककै कार्यालयबाट निरिक्षण र अनुगमन गर्ने छौ नगर प्रमुखले भने ।

तीन सदस्यीय  नगर स्तरीय न्यायिक समितिले आफ्नो कार्यक्षेत्र भित्र रहेर विभिन्न वडाहरुबाट आएका विषयगत समस्याहरुमा छलफलको माध्यमद्धारा समाधान गरिरहेको उप प्रमुख भोजकुमारी नेपालले बताईन् । उनले नगरको ११ वटा वडामा वडाध्यक्षसहित तीन सदस्य जनप्रतिनिधिहरुलाई समितिमा राखेर सहजिकरण गरिरहेको बताईन् ।

कार्यक्रममा जिल्ला सम्बन्य समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, उपप्रमुख मिना पराजुली, स्थानीय विकास अधिकारी खेमराज ओझा, योजना शाखा प्रमुख जय तिम्सिना, शिबसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल र प्रशासन प्रमुख डिल्ली नेपालको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस