पाँचथरका किसान व्यवसायीले मागे अदुवा नीति 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , ३ 13:47:49

32266-20180215134749.jpg

पाँचथर । अदुवाको निश्चित मूल्यको अभाव तथा भारत निकासीमा अवरोध खेप्दै आएका कृषक तथा व्यवसायीहरुले अदुवा सम्बन्धी छुट्टै सरकारी नीति निर्माणमा जोड दिएका छन् । उनीहरुले अदुवाबाट कृषकहरुले लाभ लिन तथा व्यवसायीहरुले सहज रुपमा निकासी गर्न राज्यले सहयोग गर्नुपर्ने आवश्यकता समेत औँल्याएका छन् । 

फिदिममा आयोजित अदुवा किसान र व्यवसायीहरुको भेलाले राज्यले अदुवा नीति बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरे । जिल्लाका कृषक, व्यवसायी र सरोकारवालाको मंगलबार भएको भेलाले अदुवाको मूल्य बृद्धि गर्न दबाव दिइनुपर्ने र अदुवाको न्यूनतम मूल्य राज्यले तोक्नुपर्नेमा जोड दिएका थिए । 

पूर्वी पहाडको प्रमुख नगदेबालीको रुपमा रहेको उत्पादन, प्रशोधन र बजारीकरणमा सरकारले सहयोग गरे पूर्वको अर्थतन्त्र थप मजबुत हुने व्यवसायीले बताए । बिचौलियाका कारण पनि किसानहरु अदुवाको वास्तविक मूल्य प्राप्त गर्नबाट बञ्चित भएको उनीहरुको भनाई छ । भेलाका सहभागीहरुले राज्यले वास्तविक किसानका लागि सस्तो र सुलभ दरमा ऋण प्रवाह गरेर अदुवा खेती प्रवद्र्धन र व्यवसायिकीकरणमा सघाउ पुर्याउनुपर्ने माग गरे । 

स्थानीय स्तरमा घरेलु तथा साना उद्योगहरुको निर्माण गरेर स्वदेशमा खपत हुने अदुवाजन्य उत्पादन स्वदेश मै उत्पादन गर्न सकिए भारतलगायत तेश्रो मुलुकको भर पर्नु नपर्ने उनीहरुको सुझाव छ । भारत बाहेक तेस्रो मुलुकमा समेत अदुवासहित स्थानीय उत्पादनको बजारीकरणमा राज्यले जोड नदिएको भन्दै सरोकारवालाहरुले कुटनीतिक प्रयासमा राज्य कमजोर भएको आरोप लगाए । 

राष्ट्रिय कृषक महासंघ पाँचथरले आयोजना गरेको कार्यक्रम अन्तर्राष्ट्रिय श्रम संगठन र उन्नति कार्यक्रमसँगको सहकार्यमा सम्पन्न गरिएको हो ।
 

प्रतिकृया दिनुहोस