बोर्डरल्यान्ड म्युजिक फेस्टिबल बिहीबारदेखि


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २ 20:15:02

काँकरभिट्टा । बोर्डरल्यान्ड म्यूजिक फेस्टिबल बिहीबारदेखि काँकरभिट्टामा शुरु हुँदैछ ।

भ्यालेन्टाइन डेको अवसरमा हुने तीन दिने फेस्टिबलमा मुलुक कै चर्चित ब्यान्ड तथा गायकले काँकरभिट्टाको साँगीतिक माहोल तताउने छन् ।

तीन दिने साँगीतिक फेस्टिबलमा पहिलो दिन बिहीबार अन्डर साइट, मौन र आरोग्य ब्यान्डले प्रस्तुति दिनेछन् । पहिलो दिन फेस्टिबलमा रक जेनरले प्राथमिकता पाउने आयोजकले बताएको छ । 

दोस्रो दिन चर्चित पपगायक नवीन के. भट्टराइको प्रस्तुति रहने छ । फेस्टिबलमा हिपहप, बिट बक्सिङका साथै स्थानीय कलाकारको पनि प्रस्तुति रहनेछ । 

त्यसैगरी तेस्रो दिन शनिबार वुमन इन कन्सर्ट विधामा अभया एण्ड इस्ट्रिम इन्जिन्सको प्रस्तुति रहनेछ । महिला सशक्तिकरणलाई माथि उठाउनका निम्ति यो कन्सर्टले भूमिका खेल्ने आयोजक संस्था अन्त्यको सुरुवातका संयोजक म्याक्स अभय पोखरेलले जानकारी दिए । 

यसअघि मुलुकका ७७ वटै जिल्ला पैदलयात्रा गर्ने लक्ष्य लिएको र तीमध्ये ४२ वटा जिल्ला सफलतापूर्वक भ्रमण गरेको तीन सदस्यीय टोली अन्त्यको सुरुवातले यसअघि पनि यस्तो फेस्टिबलको आयोजना गर्दै आएको छ ।

फेस्टिबलमा १५ हजारभन्दा बढीको सहभागिता रहने आयोजकले दाबी गरेको छ । यति ठूलो फेस्टिबलको गृहकार्य एकवर्ष अघिदेखि नै गरिएको कार्यक्रम संयोजक सुमन थापाले बताए । 

कार्यक्रमलाई स्थानीय पञ्चम म्यूजिक स्कूल, कफी गाइज र वाइट डेमोनले सहकार्य गरेका छन् ।

प्रतिकृया दिनुहोस