झापा गोल्डकप फागुन १९ गतेदेखि शुरु


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १ 12:27:44

32205-20180213122744.jpg

विर्तामोड । सर्वाधिक पुरस्कार राशीको ‘झापा गोल्डकप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन १९ गतेदेखि शुरु हुने भएको छ ।
गोल्डकपमा मुलुकका १० टीमको सहभागिता रहने आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । आयोजक झापा ११ सहित सहारा क्लब पोखरा, मनाङ मस्र्याङदी क्लब, थ्री स्टार, हिमालयन शेर्पा, सुदुर पश्चिम ११, रुपन्देही ११, बिभागीय टीम नेपाल पुलीस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको सहभागिता रहने झापा ११ का अध्यक्ष जलकुमार गुरुङ्गले जानकारी दिए ।

प्रतियोगिताका लागि बाँसको अस्थायी प्याराफिट बनाउने काम शुरु गरिएको छ । लगभग ८ हजार दर्शक अटाउन सक्ने प्याराफिटको निर्माणकार्य शुरु गरिएको आयोजक समितिका अध्यक्ष महेन्द्र कुमार गिरीले बताए । बिगतका बर्षहरुमा जस्तो यो पटक टिकट काटेर खेल हेर्न गएका दर्शक खेल नहेरी फर्किनु पर्ने अवस्था नआउने दावी आयोजकको छ । उनले प्रतियोगितालाई उत्कृष्ट बनाउन सबैमा अपिल पनि गरेका थिए ।

झापा गोल्डकपको बिजेताले १२ लाख ५१ हजार रुपैंया, ट्रफी र मेडल प्राप्त गर्ने गिरीले बताए । जुन पुरस्कार रकम अघिल्ला बर्षको भन्दा ५ लाख ५१ हजार रुपैंयाले बढी हो । अघिल्लो बर्ष बिजेताले ७ लाख रुपैयाँ प्राप्त गरेको थियो । नक आउटका आधारमा हुने प्रतियोगिताको उपबिजेताले ६ लाख रुपैंयाँ पाउने जानकारी गिरीले दिएका छन् । म्यान अफ द म्याचलाई २५ हजार रुपैंयाँ दिइने आयोजकको भनाइ छ ।

प्रतियोगिता अन्तर्गत म्यान अफ द सिरिज र आयोजक झापा ११ का एकजना उत्कृष्ठ खेलाडीलाई एक एकवटा मोटरसाइकल प्रदान गर्ने आयोजकको भनाइ छ । प्रतियोगिता सम्पन्न गर्न ९७ लाख रुपैंया खर्च हुने अनुमान आयोजकको रहेको छ । जसमा टीम ब्यवस्थापनका लागि ३२ लाख, रेफ्रीका लागि ४ लाख, मैदान ब्यवस्थापनका लागि १० लाख, २५ लाख अवार्ड र पुरस्कार वितरण, प्रकाशन÷प्रशारणमा २ लाख लगायतका खर्च विबरण आयोजकले बनाएको छ ।

आयोजकले ७० लाख रुपैंयाँ बिभिन्न ब्यवसायिक तथा ब्यापारीक घरानाबाट संकलन गर्ने, संस्थापक सदस्यता वितरणबाट ३० लाख संकलन गर्ने, ४२ लाख रुपैंयाँ टिकटबाट संकलन गर्ने योजना अघि सारेको संयोजक गिरीले बताए । उनले प्रतियोगिता सम्पन्न गरेपछि बचत भएको रकम झापा ११ क्लबको कोषमा जम्मा गर्ने बताए । आयोजकले ५० लाख रुपैंयाँ बचत गर्ने योजना बनाएको छ ।

बिश्वका सर्वाधिक दर्शकको आकर्षणको केन्द्र रहेको फुटबल खेलको संस्थागत बिकासका लागि झापाका उद्यमी, ब्यवसायी सबैमा सहयोग गर्न आयोजकले अनुरोध गरेको छ । यो सिजनको शुरुमा झापा ११ ले दुइजना खेलाडीलाई अनुबन्ध गरेको छ । गोल्डकप आयोजक समितिका अध्यक्ष गिरीको पहलमा झापा ११ का डिफेन्डर देवेन्द्र तामाङ्ग र मिडफिल्डर योगेश गुरुङ्गलाई दुइ बर्षको लागि अनुबन्ध गरिएको हो । उनले प्रतियोगिता शुरु हुने बेलासम्म ५ जना खेलाडीलाई अनुबन्ध गर्ने योजना रहेको सुनाए । अनुबन्धित खेलाडीले मासिक २५ हजार रुपैंयाँ पारिश्रमिक पाउने सम्झौता रहेको छ ।
झापा ११ का संरक्षक होम पाण्डेले दर्शकमाझ लोकप्रिय रहेको फुटबलको बिकासमा जुट्न सबैसँग आग्रह गरे । उनले झापा ११ का खेलाडीको ब्यवसायिकताका लागि सहयोग गर्न जिल्लाका स्थानीय तह, उद्योगी तथा ब्यवसायीहरुका आग्रह पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस