काँकरभिट्टा खानेपानीको चुनावको निहुँमा राप्रपा प्रजातान्त्रिक फूटको संघारमा


लक्ष्मी उप्रेती , प्रकाशित मिति : २०७४ ,फाल्गुन , १ 07:31:41

32197-20180213073142.jpg

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनका विषयमा मत बाझेपछि राप्रपा (प्रजातान्त्रिक) मेचीनगर नगर समितिमा विवाद शुरु भएको छ । 

चुनावी मैदानमा उत्रिएका एमाले र माओवादी केन्द्रको बाम गठबन्धन, नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम र राप्रपासहितको लोकतान्त्रिक गठबन्धन तथा लिम्बुवान पार्टीको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कसलाई सघाउने भन्ने विषयमा समितिका पदाधिकारीबीच सहमति हुन नसक्दा नगर समितिभित्र विवाद चुलिएको हो । 

विवादकै बीचमा पार्टीका नगर अध्यक्ष घनश्याम लामिछाने कारवाहीमा परेका छन् । निर्वाचनमा बामपन्थी गठबन्धनको ज्ञानेन्द्रकुमार घिमिरेले नेतृत्व गरेको टिमलाई समर्थन गर्दै विज्ञप्तिमार्फत उनले अनुरोध गरे लगत्तै नगर अध्यक्ष लामिछानेलाई नगर समितिले साधारण सदस्यसम्म नरहने गरी कारवाही गरेको जनाएको छ ।

नगर समितिले चाहिँ लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्न विज्ञप्ती जारी गरेपछि पार्टीभित्रको विवाद सतहमा आएको हो । अध्यक्ष लामिछानेले खुलेरै बाम गठबन्धनलाई समर्थन गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । 

तर नगर सचिव खगेन्द्र लामिछानेले जारी गरेको विज्ञप्तीमा राप्रपा (प्रजातान्त्रिक)ले लोकतान्त्रिक गठबन्धनसँग सहकार्य गरिएको उल्लेख गरेका छन् । कारवाहीमा परेका अध्यक्ष लामिछानेले भने पार्टीका जिल्ला सचिव निरबहादुर कार्कीले नगर समितिलाई हस्तक्षेप गरेका कारण यो समस्या आएको बताए । 

उनले आफूले केन्द्रीय तथा जिल्ला नेतृत्वसँग छलफल गरेर बामपन्थी गठबन्धनलाई समर्थन गर्ने गरी विज्ञप्ती जारी गरेको दाबी गरे । यो कारवाहीबाट आफू रत्तिभर विचलित नहुने र बाम गठबन्धनकै उम्मेद्वारको समर्थनमा खुलेरै लाग्ने बताए ।

यता नगर तथा जिल्ला समितिले भने बामगठबन्धनका उम्मेद्वारलाई समर्थन गर्ने अध्यक्ष लामिछानेको एकल निर्णय भएको बताएको छ । ‘यसमा कसैको हस्तक्षेप छैन’ जिल्ला सचिव निरबहादुर कार्कीले भने ‘जिल्ला नेतृत्वको उपस्थितिमा सम्पन्न छलफलले नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम र राप्रपासहितको लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्ने र मतदान गर्ने निर्णय गरेको थियो । 

नगर अध्यक्ष लामिछानेले यो निर्णयलाई वेवास्ता गर्दै बाम गठबन्धनलाई समर्थन गर्दै विज्ञप्ती जारी गर्दा पार्टी छक्क परेको छ, यसमा नगरका कुनै पदाधिकारीहरुको समर्थन छैन, यो बारेमा केन्दीय नेतृत्वमा समेत छलफल भएको छ ।’

उक्त निर्वाचनमा नौ पदका लागि २१ जना उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका कार्यवाहक संयोजक हेमकुमार खड्काका अनुसार एक अध्यक्ष पदका लागि ३ जना, एक उपाध्यक्ष पदका लागि २ जना, एक सचिव पदका लागि २ जना, एक कोषाध्यक्ष पदका लागि ३ जना, दुई महिला सदस्य पदका लागि ४ जना, तीन क्षेत्रगत सदस्यका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । 

आगामी तीन वर्षे कार्यकालका संस्थाको नयाँ पदाधिकारी चयनका लागि हुने निर्वाचनमा बाम गठबन्धनले ज्ञानेन्द्रकुमार घिमिरे र लोकतान्त्रिक गठबन्धनले हर्कबहादुर लिम्बू फिया्क तथा लिम्बूवान पार्टीको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले लिलानाथ आङ्गदेम्बेको नेतृत्वमा उम्मेद्वार खडा गरेको छ । । 

संस्थामा कूल ५ हजार ४३ मतदाता रहेपनि व्यक्तिगत तर्फ ४ हजार २०९, संघ संस्थातर्फ ११९ गरी ४ हजार ३२८ जनाले मात्र मतदानमा सहभागी हुन पाउने छन् । 

फागुन ५ मा हुने मतदानमा मतदाता परिचय पत्रमा फोटो नखिचाएका उपभोक्ताले मतदान गर्न नपाउने व्यवस्था छ । 

प्रतिकृया दिनुहोस