महाशिवरात्रिमा यसरी गरिँदैछ आज भगवान् शिवको आराधना


अनलाइन, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १ 07:30:46

32196-20180213073046.jpg

काठमाडौं । फाल्गुण कृष्ण चतुर्दशी अर्थात् महाशिवरात्रि। मंगलबार दिनभर त्रयोदशी तिथि भए पनि राति १०ः५० देखि चतुर्दशी लाग्दैछ। ज्योतिर्लिङ्गका रूपमा भगवान् शिवको उत्पत्ति भएको दिनका रूपमा यो पर्व मनाइन्छ।

नामैले महाशिवरात्रि अर्थात् राति गरिने शिवको आराधना। सनातन हिन्दु धर्मावलम्बीले पौराणिक विधिअनुसार र विशेषगरी शिवमार्गीहरूले शैवतन्त्रअनुसार महाशिवरात्रि मनाउने पुराणविद् प्रियंवदा काफ्लेले बताइन्। महाशिवरात्रि पर्व काम्य र नैमित्तिक दुई रूपमा मनाउने परम्परा रहेको धर्मशास्त्री प्रा।डा।देवमणि भट्टराईले बताए।

‘कुनै कामना राखेर नियमित १४ वर्षसम्म विधिपूर्वक पूजा गर्ने र उद्यापन गर्ने परम्परा छ’, भट्टराईले भने, ‘नैमित्तिक रूपमा बर्सेनि यो पर्व मनाइन्छ। भगवान् शिवको पूजा पञ्चोपचार वा षोडषोपचार विधिले गरिने पुराणविद् काफ्लेले बताइन्। रातभर जागा बसी चारमध्ये एक प्रहरमा दूध, अर्कोमा दही अर्कोमा घ्यु र अर्कोमा महले स्नान गराई भोलिपल्ट बिहान नित्यपूजा गर्ने विधान रहेको भट्टराई बताउँछन्।

समुद्र मन्थनका बेला निस्केको विषपान गरी शिवले लोकको रक्षा गरेको प्रसंग पुराणहरूमा उल्लेख छ। ‘लोकको कल्याणका लागि त्याग गर्ने देवताका रूपमा शिवको महिमा छ’, काफ्लले भनिन्, ‘सृष्टिको अन्त्य गर्ने जिम्मेवारी पनि उनैमा छ।’ महाशिवरात्रिका अवसरमा नेपालको काठमाडौंस्थित पशुपतिनाथ र देश भरका शिवालयहरुमा  श्रद्धालुको घुइँचो लाग्छ। पशुपतिनाथको दर्शन गर्न भारतदेखि साधुसन्त, बाबा तथा सर्वसाधारण आउने गर्छन्।

प्रतिकृया दिनुहोस