अब खानेपानी समितिका निर्णय नगरपालिकालाई सोधेर गर्नुः नगरप्रमुख आचार्य


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १ 07:18:31

32195-20180213071831.jpg

धुलाबारी (झापा) । मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले नगरपालिका क्षेत्र भित्रका खानेपानी उपभोक्ता समितिले अब कुनै निर्णय गर्दा नगरपालिकाको स्वीकृति लिएर मात्र गर्न निर्देशन दिएका छन् । 

धुलाबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १७औँ साधारणसभा सोमबार उद्घाटन गर्दै नगरप्रमुख आचार्यले यस्तो निर्देशन गरेका हुन् । 

नगरप्रमुख आचार्यले स्थानीय सरकार सञ्चालन ऐनले नगरभित्रका खानेपानीको सम्पूर्ण ब्यवस्थापन नगर कार्यपालिकाको निर्णयबाट गर्ने ब्यवस्था भएकाले उक्त अधिकारको प्रयोग गर्न नगरपालिका तयार रहेकाले आगामी दिनका महत्वपूर्ण निर्णयहरु नगरपालिकाको पूर्व स्वीकृति लिएर गर्न भनेका हुन् । 

उद्घाटन समारोहमा विभिन्न विधाका ७ जनालाई नगरप्रमुख आचार्यले सम्मान समेत गरिदिए । पानीको मिटर रिडिङ भएको ७ दिन भित्र बिल तिर्ने ६ जना उपभोक्ताहरुलाई उत्कृष्ट उपभोक्ताको रुपमा सम्मान प्रदान गरिएको छ भने संस्थाको उत्कृष्ट कर्मचारीको रुपमा लेखापाल अरुणकुमार साहालाई सम्मानित गरिएको छ । 

सो अवसरमा अनलाइन बिल भुक्तानी सेवाको उद्घाटन गरिएको छ । नगरप्रमुख आचार्यले सो सेवाको उद्घाटन गरेका हुन् । 

समितिका सचिव अजय घिमिरेका अनुसार ‘खल्ति डट कम’ अथवा ‘खल्ति डिजिटल वालेट’ मोवाइल एपको माध्यमबाट उपभोक्ताले घर मै बसेर खानेपानीको बिल तिर्न सक्ने व्यवस्था गरिएको हो । 

प्रतिकृया दिनुहोस