धुलाबारी खानेपानीको साधारणसभा कर्मचारीबाटै बहिस्कार


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १ 07:05:47

32192-20180213070547.jpg

धुलाबारी (झापा) । संस्थामा कार्यरत कर्मचारीलाई समितिले गर्ने सम्मानमा सधैंभरि विभेद गरेको विरोधमा धुलाबारी खानेपानी उपभोक्ता समितिका कर्मचारीले साधारणसभा नै बहिस्कार गरेका छन् । 

सोमबार आयोजना गरिएको खानेपानीको साधारणसभामा समितिका पदाधिकारीलाई मन परेको व्यक्तिलाई मात्र लगातार पुरस्कृत र सम्मान गर्ने तर वर्षौंदेखि काम गर्ने इमान्दार कर्मचारीलाई बेवास्ता गरेको कारण कर्मचारीहरुले साधारणसभा बहिस्कार गर्नु परेको कर्मचारी प्रमुख गायत्रीप्रसाद ढुंगानाले बताए ।

संस्थामा कार्यरत २२ जना कर्मचारीमध्ये २० जनाले साधारणसभा बहिस्कार गरेर हल बाहिर बसेको धुलाबारी खानेपानीका प्राविधिक कर्मचारी सुरेन खातीले जानकारी दिए ।

कार्यसमितिले संस्थाका लेखापाल अरुणकुमार साहालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गर्ने निर्णय गरेको थियो । लेखापाल साहालाई समितिले यसअघि पनि सम्मान गरिसकेको थियो । 

तर संस्थामा विगत २४ वर्षदेखि कार्यरत रहेका राजेश थापालाई बेवास्ता गरेपछि आफूहरुले समितिलाई नाम सच्याउन आग्रह गरेकोमा  सुनवाई नगरेपछि बाध्य भएर साधारणसभा बहिस्कार गर्नुपरेको कर्मचारी प्रमुख ढुंगानाले बताए । 

यस विषयमा धुलाबारी खानेपानी समितिका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीसँग जिज्ञासा राख्दा कार्यसमितिको बैठकले गर्ने निर्णय कर्मचारीको विरोधमा परिवर्तन नहुने जिकिर गरे । ‘समितिले निर्णय गर्दा कर्मचारीको कार्यदक्षता र इमान्दारितालाई हेरेर निर्णय गरेको हो’ अध्यक्ष बुढाथोकीले भने ‘समितिको निर्णय सही छ ।’ 

प्रतिकृया दिनुहोस