मेचीनगरस्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता फागुन १ देखि 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २९ 11:15:18

32179-20180212111518.jpg

मेचीनगर । झापाको मेचीनगरमा फागुन १ गतेदेखि प्रथम निर्मल राई स्मृति मेचीनगरस्तरीय अन्तर विद्यालय छात्र भलिबल प्रतियोगिता हुने भएको छ । 

आयोजक अरुणोदय आवासीय माध्यमिक विद्यालय मेचीनगर ६ ले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगतामा १४ वटा निजी र एउटा सामुदायिक गरी १५ वटा विद्यालयले सहभागिता जनाउने जानकारी दिइएको छ ।

प्रतियोगिता नकआउटका आधारमा खेलाइने छ । प्रतियोगितामा शारदा शिशु सदन, सीताराम सामुदायिक, दन्तकाली, सनसाइन, फाइव स्टार, नर्थ प्वाइन्ट, सूर्र्याेदय, मेची मोडल, पशुपति, इष्ट होराइजन, होलीबेल, लोफोफोरस, अरुणोदय, हिमालयन अंग्रेजी माध्यमिक विद्यालयसहित सामुदायिकतर्फ काँकरभिट्टा माध्यमिक विद्यालयले सहभागिता जनाउने छन् । 

दुई दिनसम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद १० हजार तथा उपविजेता टिमले ६ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगीरथ राईले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । 

सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि भलिबल खेलको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले राईले आफ्ना दिवंगत पिताको स्मृतिमा उक्त प्रतियोगिता हरेक वर्ष सञ्चालन गर्नेसमेत बताए । भविष्यमा रनिङ शील्डका रुपमा विकास गरिने छ । आगामी दुई वर्षभित्रमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र सोही रकमबाट हरेक बर्ष प्रतियोगिता सञ्चालन गरिने उनले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न १ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुईँटेल र प्रबन्ध निर्देशक रीता थापाले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।

प्रतिकृया दिनुहोस