प्याजमा नेपालको परनिर्भरता कायमै !


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २९ 11:07:19

32178-20180212110720.jpg

मेचीनगर । आयात घटाउने र निर्यात वृद्धि गर्ने उद्देश्यसहित सरकारले ल्याएको प्याज विशेष कार्यक्रम असफल भएको छ । २०६४ सालमा सरकारले झापासहित तराइका विभिन्न जिल्लामा प्याज विशेष कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।
 
काँकरभिट्टा नाकाबाट मात्रै एक वर्षमा करिब २३ करोड रुपैयाँ बराबरको प्याज नेपाल आयात भएको छ । क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७४/७५ को माघ अन्तिम सातासम्ममा ६ करोड ३५ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको २ हजार १२१ मेट्रिक टन प्याज भारतबाट नेपाल आयात भएको छ । 

आयातित प्याज झापासहित सुनसरीका स्थानीय बजारमा खपत हुने गरेको छ । बितेको आर्थिक वर्ष २०७३/७४ मा २२ करोड ५३ लाख रुपैयाँ मूल्य बराबरको ७ हजार ५१० मेट्रिक टन प्याज आयात भएको कार्यालयका प्लान्ट क्वारेन्टाइन अधिकृत सुरेशकुमार यादवले बताए ।  यसले आत्मनिर्भर अर्थतन्त्रको गफ हाँक्ने सरकारी असफलता पनि प्रष्ट गर्छ ।
 
ऐन कानुन बनाउने, महत्वकांक्षी योजनाहरु ल्याउने अनि तत्काल घोषणा गरिहाल्ने तर त्यसको कार्यान्वयनमा भने सरकार कहिल्यै गम्भीर नबन्ने सरकारी कमजोरीले प्याज विशेष कार्यक्रम असफल भएको हो ।  कार्यक्रमले निरन्तरता पाउन नसकेकै कारण सरकारले योजना नै खारेज गरेको तरकारी विकास निर्देशनालय खुमलटारले जनाएको छ ।
 
प्याजको आयात घटाउँदै नेपाली प्याजलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि तराईका झापा, सप्तरी, बारा, रुपन्देही, कपिलवस्तु, बाँके बर्दियालगायतका जिल्लामा सरकारले प्याज विशेष मिसन ल्याएको थियो । योजना असफल भएपछि नेपाल प्याजका लागि समेत परनिर्भर बनेको हो । 

बितेको चार आर्थिक वर्षमा पूर्वी नाका भएर हुने प्याजको निर्याप्त शून्य छ । आर्थिक वर्ष २०७०/७१ मा काँकरभिट्टा नाका हुँदै २६ करोड रुपैयाँभन्दा बढीका ताजा तरकारी नेपाल आयात भएको थियो । २७ प्रकारका ताजा तरकारी सबै भारतबाट आयात भएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । 

आयातित तरकारीमध्ये सबैभन्दा अग्रस्थानमा प्याज नै छ । आर्थिक वर्ष २०७०/०७१ मा ११ करोड ६ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको चार हजार ५४ मेट्रिक टन प्याज नेपाल भित्रिएको कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ ।  

यसैगरी आर्थिक वर्ष २०७१/७२ मा  १९ करोड ९९ लाख १ हजार रुपैयाँ बराबरको ६ हजार १६१ र आर्थिक वर्ष २०७२/७३ मा २४ करोड ६६ लाख ६७ हजार रुपैयाँ मूल्य बराबरको ७ हजार ९५७ मेट्रिक टन प्याज आयात भएको कार्यालयका वरिष्ठ क्वारेन्टाइन अधिकृत सुखदेव मैनालीले बताए ।

भारतका विभिन्न प्रान्तबाट प्याज आयात हुने गरेको छ । कृषिमा आयाततर्फ कार्यालयले २०० रुपैयाँ आयात इजाजत दस्तुर र निर्याततर्फ १०० रुपैयाँ निर्यात दस्तुर लिने गरेको छ । व्यापारीलाई प्याज आयात गरे वापत ५ प्रतिशत कृषि शुल्क बाहेक सबै महसुल नेपाल सरकारले निःशुल्क गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । 

सरकारी  मिसनमा प्याजको भण्डारण गर्न ‘स्टोरेज हाउस’ निर्माण गर्नेसमेत योजना थियो । पथलैया, बुटवल, कोहलपुरमा ‘भेन्टिलेटर प्याज’ घर निर्माण गर्ने योजना मिसन भए पनि मिसनका कुनै पनि योजना पूरा नभएको तरकारी विकाश निर्देशनालय खुमलटारले जनाएको हो ।

सरकारको छनौटमा परेका स्थानहरुमा कतै पनि निर्माण कार्य शुरु नभएका कारण योजनाहरु अधुरै रहेपछि सरकारले कार्यक्रम बन्द गरेको हो । मिसनमा भएका योजनाहरु कार्यान्वयन गर्न नसक्दा मिसन प्रभावकारी बन्न नसकेको हो । सरकारले निक्कै महत्वका साथ यो कार्यक्रम ल्याएको थियो । उद्देश्य अनुरुप योजना सफल हुन सकेन र तीन वर्ष अघि नै योजना बन्द भयो ।

सरकारले छनौट गरेका सबै ठाउँमा निर्माण गर्ने योजना कागजमै मात्र सिमित भएका कारण पनि योजना असफल भएको सरोकारवालाहरुको भनाई  छ । सम्बन्धित निकायको निष्क्रियताका कारण कार्यक्रम प्रभावकारी नबन्दा वर्षेनि नेपाली बजारले भारतबाट आयातित प्याजको भर पर्नुपरेको छ । प्याज विशेष कार्यक्रम प्रभावकारी बनाउन नसक्दा प्याजका लागि अर्काको भरपर्नु परेको स्थानीय जानकारहरु बताउँछन् ।  

प्याज खेती वृद्धि न्यून रुपमा हुनु, लक्षित जमिनको हेक्टर नपुग्नु र ‘भेन्टिलेटर प्याज’ घर निर्माणका लागि सम्बन्धित सहकारी संस्थाहरुलाई आह्वान गर्दासमेत खासै चासो नदेखाउनुले पनि उत्पादनमा घटेर निर्यात बढाउन नसकिएको कार्यालयले जनाएको छ । 

‘उत्पादन भएलगत्तै खपत गरिहाल्नु पर्छ नत्र कुहिने सडिने डर हुने भएकाले किसान हत्तपत्त व्यावसायिक प्याज खेतीमा नलाग्नु मुख्यः कारण’ भएको कृषि प्राविधिक हरेन्द्रकुमार चौरसियाको भनाई छ ।
 
नेपालमा प्याज उत्पादन हुने भए पनि भण्डारणको व्यवस्था पर्याप्त नभएका कारण व्यावसायिक रुपमा प्याज खेतीप्रति किसानको आकर्षण घटेको उनी बताउँछन् । ‘नेपालमा प्याजको माग अनुसार उत्पादन छैन’ चौरसिया भन्छन् ‘नेपालको उत्पादनले करिब ६ महिना पनि पुग्दैन । नेपालमा उत्पादन नै छैन, अनि कसरी निर्यात होस् !’ 

प्रतिकृया दिनुहोस