कोडिङ प्रतियोगितामा सरस्वती मावि दमकका विद्यार्थीहरुले देखाए चमत्कार


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,माघ , २७ 21:01:52

32139-20180210210152.jpg

बिर्तामोड । कम्प्युटर एशोसिएसन नेपाल, क्यान झापाले आयोजना गरेको जिल्ला स्तरीय कोडिङ प्रतियोगितामा सरस्वती मावि दमकका विद्यार्थीहरुले ह्याट्रिक गरेका छन् ।

गत माघ १६ गते सम्पन्न प्रथम चरणको छनोट प्रतियोगिताबाट चुनिएर आएका नौजना प्रतियोगीहरुबीच आज भएको फाइनल प्रतियोगितामा सो विद्यालयका तीनजना विद्यार्थीले पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरेर पुरस्कृत भएका हुन् । 

धुलाबारीको इस्ट होराइजन इंगलिस स्कूलमा सम्पन्न छनोट प्रतियागितामा २१ वटा विद्यालयमा १२ कक्षाको कम्प्युटर साइन्समा अध्ययनरत ४२ विद्यार्थीहरुको सहभागिताबाट १० जना फाइनलमा छानिएका थिए । तर आज गोमेन्द्र कलेजमा आयोजना गरिएको फाइनल प्रतियोगितामा ९ जनामात्र सहभागी भए । 

क्यान झापाका अध्यक्ष लक्ष्मीकान्त खनालका अनुसार मौसम दाहाल, रोशन खड्का र राजन ढकाल क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भए । उनीहरु तीनैजना दमकको सरस्वती माविका विद्यार्थी हुन् । विजयीलाई क्रमशः ५०००, ३००० र १५०० रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

क्यान महासंघका केन्द्रीय सदस्य दिपेश पाठकको प्रमुख आतिथ्यमा बिर्तामोडमा प्रतियोगिताको सञ्चालन क्यान झापाका सचिव रोशन दाहालले र प्रतियोगिताको संयोजन विनोद प्रधानले गरेका थिए । 

विद्यार्थीमा कम्प्युटर विषयप्रतिको लागव बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्यान महासंघ झापाका अध्यक्ष लक्ष्मीकान्त खनालले जानकारी दिए । 

प्रतिकृया दिनुहोस