अब झापाका १५ वटै तहमा सहकारी समन्वय समिति बनाइने


गोपाल काफ्ले, प्रकाशित मिति : २०७४ ,माघ , २७ 20:19:57

गत आवमा दोब्बर नाफा गरेको संघले चालू आवमा तीन गुणा बढाउने लक्ष्य प्रस्तुत

32137-20180210201957.jpg

सुरुङ्गा (झापा) । झापा जिल्ला सहकारी संघको २१औं वार्षिक साधारणसभा चालू आर्थिक वर्षका लागि तय गरिएका नीति तथा कार्यक्रम र प्रस्तावित बजेट पारित गर्दै आज सम्पन्न भएको छ ।

जामुनखाडी पर्यटकीय स्थलमा आयोजित साधारणसभामा संघका अध्यक्ष गणेश ढकालले ‘दुःखमा हामी पनि दुख्छौं’ र ‘हामी बनाउँछौं सहकारी सूचना तथा स्रोत केन्द्र’ जस्ता रचनात्मक अभियानको घोषणा गरे । उनले सञ्चालक समितिको तहबाट यस विषयमा निर्णय गरी कार्यान्वयन पनि सुरु गरिएकाले सबै सदस्य संस्थाहरुको सक्रिय सहभागिताको अपेक्षा सुनाए ।

अध्यक्ष ढकालले तीन करोड छ लाख ३१ हजार ३१९ रुपैयाँको वासलात पारित गराउँदै आव २०७४/०७५ मा १३ करोड रुपैयाँको वासलात बनाउने महत्वाकांक्षी लक्ष्य पनि प्रस्तुत गरे । आव २०७१/०७२ मा करिब छ लाख रुपैयाँ मुनाफा आर्जन गरेको संघले गत आवमा त्यसको दोब्बरले शुद्ध नाफा कमाएको प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षका लागि ३४ लाख ३८ हजार रुपैयाँ आम्दानी गर्ने संघको लक्ष्य रहेको छ ।

संघको वार्षिक प्रतिवेदनमा सदस्यता तथा शेयर वृद्धि, कोष वृद्धि, निक्षेप वृद्धिको प्रस्ताव गरिएकोमा हलले सर्वसम्मत पास गरेको छ । यस्तै, सहकारी संघले समन्वय तथा विकासमा संघ–संस्थासँग राखेको साझेदारी प्रस्तावलाई कार्यावयनमा लैजान सहमति प्रदान गरिएको छ । यसरी नै जिल्लाका १५ वटा स्थानीय तहमा नगरस्तरीय भए ९ जनाको र गाउँपालिका स्तरीय ७ सदस्यीय समन्वय समिति गठन गर्ने प्रस्ताव पनि सर्वसम्मत पास भएको छ ।

वार्षिक साधारणसभाको उद्घाटन समारोह प्रतिनिधिसभामा झापा क्षेत्र नं. १ बाट निर्वाचित सदस्य राम कार्कीको प्रमुख आतिथ्यमा भएको थियो । उद्घाटन समारोहमा आफ्ना भनाई राख्दै सांसद कार्कीले शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीतिक दलका नेता तथा नेतृत्वमा रहने सरकारी कर्मचारीहरुको लगानी परेकाले व्यवस्थापनमा अस्तव्यस्तता रहेको खुलासा गरे । उनले विकासलाई आर्थिक विषयसँग नभई राजनीतिसँग जोड्दै विकास भनेको वृद्धि नभई स्वतन्त्रता भएको तर्क गरे । 

आफूलाई सहकारीका बारेमा उत्तिसारो जानकारी नभएको सुनाउँदै सांसद कार्कीले इजरायलको समृद्धिका लागि कृषिमा आधारित सहकारी अभियान सार्थक बनेको बताए । नेपालमा सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको एउटा खम्बा भनिए पनि राजनीति र आर्थिक क्षेत्रमा सरकारी र निजीकै बोलवाला रहेको उनको तर्क छ । 

नेपाली कांग्रेस पार्टीले सहकारी सिद्धान्त अवलम्बन गर्नु पथ्र्यो, विपीले बनाएको सिद्धान्तले यस्तै भन्छ तर उनका चेलाले निजीलाई प्राथमिकता दिएको आफ्नो बुझाई सांसद कार्कीले दर्शाए । 

समारोहमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य चन्द्र ढकाल, पूर्व सञ्चालक सदस्य रामचन्द्र उप्रेती, प्रदेशसभाका सांसद हिरा थापा, नेफ्स्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी र डिभिजन सहकारी कार्यालय भद्रपुरका अधिकृत दुर्गाप्रसाद न्यौपानेले आ–आफ्ना धारणा राखेका थिए ।

संघका सचिव युवराज ढकालले सञ्चालन गरेको उद्घाटन समारोहमा सहभागी अतिथिहरुलाई उपाध्यक्ष महेन्द्रकुमार गिरीले शाब्दिक स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस