केरखामा प्रतियोगितात्मक कृषि प्रदर्शनी 


उमानाथ भण्डारी , प्रकाशित मिति : २०७४ ,माघ , २७ 18:05:41

32135-20180210180541.jpg

केरखा । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले आफ्नो गाउँपालिकालाई नमूना बनाउन सबैको साथ अनिवार्य रहेको बताएकी छन् । गाउँपालिकाले योजना बनाउँदै र बजेट विनियोजन गर्दैमा नमूना गाउँपालिका नबन्ने धारणा अध्यक्ष काफ्लेको छ । 

आइपिएम प्रविधि अपनाऔं, दिगो कृषि विकासमा टेवा पुर्याऔं भन्ने नारा दिएर गाउँपालिका र कारितास नेपालको सहयोगमा आज केरखा बजारमा सम्पन्न एक दिने कृषिमेला प्रदर्शनीमा बोल्दै अध्यक्ष काफ्लेले  गाउँपालिकालाई आलुको पकेट क्षेत्र बनाउने समेत बताइन् ।

गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले कृषकले उत्पादन गरेको कृषि उपजले आफ्नो खाँचो टार्नसमेत नसकेले यसलाई व्यवसायिकतातर्फ अघि बढाउन कृषकलाई अनुरोध गरे । छिटो र धेरै फलाउने आशमा रसायनिक मल र विषादी प्रयोग गर्नाले मानव स्वास्थ्यमा समेत ठूलो असर हुने गरेकाले कृषक सचेत हुनुपर्नेमा सिवाकोटीले जोड दिए ।

कार्यक्रममा कारितास नेपालका कार्यक्रम अधिकृत तेजबहादुर बस्नेतले कृषिमेला प्रदर्शनीले कमल गाउँपालिकाका कृषकलाई कुन माटोमा कुन बाली उत्पादन हुने रहेछ भन्ने जानकारी हुने बताए ।
 
कृषिमेला प्रदर्शनीमा कमल गाउँपालिका, चुलाचुली गाउँपालिका, दमक नगरपालिका र शिवशताक्षी नगरपालिकाका कृषकले उत्पादन गरेका कृषिजन्य बस्तुहरु प्रतियोगितामा समावेश गराएका थिए ।

कमल गाउँपालिकास्तरीय मूल कृषक समूहका अध्यक्ष खम्बासिंह कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि प्रविधिक टंक कट्टेलले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस