शिवसताक्षीमा नगरस्तरीय खेलकुद र कृषि समिति गठन 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २७ 14:58:06

दूधे । शिवसताक्षी नगरपालिकाले नगरस्तरीय दुईवटा क्षेत्रगत नगर विकास समिति गठन गरेको छ । नगरपालिकाको कार्यालय ब्याङडाँडामा नगरप्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा शुक्रबार बसेको बैठकले नगर खेलकुद विकास र कृषि विकास समिति गठन गरेको हो । 

नवगठित खेलकुद समितिको संयोजकमा शिवसताक्षी ११ झिलझिलेका फुर्वा (प्रदिपकुमार गोले) तामाङ चुनिएका छन् । फुर्वाको संंयोजकत्वमा ११ सदस्यीय नगर खेलकुद विकास समिति गठन भएको हो ।

झापाली फुटबल क्षेत्रमा स्थापित पूर्व खेलाडी फूर्वा तामाङ हाल सतासीधाम स्पोटिङ क्लबका उपाध्यक्ष हुन् । फुर्वा व्यबसायिक रुपमा झिलझिलेमा फिटनेश (जिम हाउस) सञ्चालन गरिरहेका छन् ।

त्यस्तै, समितिको सदस्यमा तुलसी दाहाल, दिलिप राई, दिपक भेट्वाल, प्रेम फुयाँल, अरुण चेम्जोङ, बुद्धिराज लक्सम, हिमा कार्की, लक्ष्मण अधिकारी र सन्तोष पौडेल छन् । सो समितिको सदस्य सचिवमा शिवसताक्षी नगरपालिकाका प्रशासन प्रमुख डिल्ली नेपाल रहने व्यवस्था गरिएको छ ।

सो बैठकले गठन गरेको नगर कृषि विकास समितिको संयोजकमा शिवसताक्षी २ मंगलबारेका बलजित राई छन् । संयोजक राई साविक धरमपुर गाविसका निर्वाचित अध्यक्ष (जनप्रतिनिधि) हुन् । उनी धरमपुर नगदे बाली कृषि सहकारी संस्थाको अध्यक्ष पनि हुन् ।

सो समितिको सदस्यहरुमा कमल लामिछाने, उमानाथ पराजुली, कमल कार्की, मिना चापागाई, विष्णु प्रसाई, तीलप्रसाद कट्वाल, नबिन लामा, देवानन्द शाह रहेका छन् । सो समितिको सदस्य सचिवमा नगर कृषि विकास कार्यालयका प्रमुख खिलबहादुर श्रेष्ठ छन् ।

प्रतिकृया दिनुहोस