अन्तरिक्षमा पनि व्यापारः हजारभन्दा बढी कम्पनी सम्लग्न


अनलाइनखबर, प्रकाशित मिति : २०७४ ,माघ , २७ 09:46:02

व्यावसायिक बन्दै अन्तरिक्ष खोजी अभियान

32124-20180210094602.jpg

काठमाडौं । गत ६ फेब्रुअरीमा अमेरिकाको निजी अन्तरिक्ष कम्पनी ‘स्पेस-एक्स’ले हालसम्मकै शक्तिशाली रकेट ‘फाल्कन हेभी’ प्रक्षेपण गर्‍यो ।

उक्त प्रक्षेपणबाट अन्तरिक्ष उद्योगमा एउटा क्रान्ति ल्याएको दाबी कम्पनीको छ । फ्लारिडाको केनेडी अन्तरिक्ष केन्द्र प्रयोग गरिएको थियो, प्रक्षेपणका लागि । उक्त रकेट पृथ्वीको कक्षमा हजारौं वर्षसम्म घुमिरहन सक्ने क्षमताको रहेको कम्पनीको भनाइ छ ।

पहिलो पटक एक ‘टेस्ला’ कारलाई रकेटमा पठाइएको छ, जुन अन्तरिक्षमा पुग्ने पहिलो सवारी साधन भएको छ । र, उक्त रकेट प्रक्षेपण गर्न नौ करोड अमेरिकी डलर लगानी गरेको छ, स्पेस-एक्सले ।

अन्तरिक्षमा सञ्चालन गरिने खोजी अभियान अब कुनै मुलुकको महत्वाकांक्षाको हिस्सा मात्र बाँकी रहेन । अब यो दीर्घकालीन लाभ प्राप्त गर्ने व्यापारमा परिणत भएको छ । र, स्पेस-एक्सले गरेको पछिल्लो प्रक्षेपण त्यसैको एक उदाहरण हो ।

व्यापार अन्तरिक्षको

मंगल ग्रहमा पानी रहेको प्रमाण प्राप्त भएपछि अन्तरिक्षप्रति मानिसको चासो बढेको छ । र, अहिले अन्तरिक्ष व्यापारले मंगल ग्रहकै गन्तव्यलाई आफ्नो लक्ष्य बनाएको छ । चन्द्रमामा जस्तै मंगल ग्रहमा पनि मानव पाइला पुर्‍याउने दौडमा सामेल छन्, निजी क्षेत्रमा अन्तरिक्ष कम्पनीहरु ।

वर्षौंदेखि यस्तो चासो र अन्तरिक्षमा खोजीको संसार लामो दूरीसम्म देख्न सकिने दूरबिन र विज्ञानका कथाकारहरुमा सीमित थियो । तर, विस्तार यसमा आम मानिस जोडिन थालेका छन् । अब अन्तरिक्षमा खोजी अभियान व्यावसायिक रुपमा स्थापित भएको छ ।

हालसम्म अन्तरिक्षका सबै गतिविधि अमेरिका र रुसी सरकारका आर्थिक अनुदानबाट सञ्चालित छन् । अमेरिकामा नयाँ प्रविधिको खोजी ‘नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन’ (नासा) र रुसमा ‘फेडेरल स्पेस एजेन्सी’ (रोसकास्मोस)ले गर्दै आएका छन् ।

केही वर्षयताको आर्थिक मन्दीका कारण अन्तरिक्ष अभियानको बजेट कटौती भएको छ । तर, निजी क्षेत्रका कम्पनीहरु थाकेका छैनन् । निरन्तर खोज अभियानमा छन् ।

सन् १९६० को मध्यमा अमेरिकाले अन्तरिक्षसम्बन्धी खोजविनका लागि कुल वाषिर्क बजेटको चार दशमलव चार प्रतिशत खर्च गथ्र्यो । अहिले शुन्य दशमलव ४७ प्रतिशत मात्र खर्चिंदै आएको छ । सोही कारण त्यससम्बन्धी खोजी र अनुसन्धानमा नासालगायत सरकारी एजेन्सीहरुको एकाधिकार घट्दो क्रममा छ ।

लगानीमा आक्रामकता

पछिल्ला वर्षमा यस व्यापारमा उद्यमी, उद्यम पुँजीवादी, पुँजीपति र व्यक्तिगत साझेदारी ह्वात्तै बढेको छ । लगानीकर्ताहरुले अझै आकाशगंगासम्मको पहुँच स्थापित गर्न सकेका छैनन् ।

खासगरी, रकेट र साना भूउपग्रह निर्माण गर्ने कम्पनीहरुमा निजी क्षेत्रको लगानीको ग्राफ उकालो लागेको देखिन्छ । कमजोर अवसर र जोखिमका बावजुद लगानीकर्ताहरुको आक्रामकतामा पटक्कै कमी आएको छैन ।

‘यस क्षेत्रमा लगानीको सही समय अब टाढा छैन,’ सानफ्रान्सिस्कोस्थित ‘बेसेमर साझेदारी’का डेभिड कोवेन भन्छन्, ‘मानिसको यस्तो प्रजाति बन्नु आवश्यक छ, जो एकबाट अर्को ग्रहमा आउजाउ गर्नसक्छ ।’

यो कोवेनको पागलपन होइन । र, उनी क्रेजी ‘स्टार ट्रयाक फ्यान’ पनि होइनन् । उद्यम पुँजीवादी उनले अन्तरिक्षका लागि कारोबार गर्ने धेरै कम्पनीमा लगानी गरेका छन् ।

त्यसैमध्येको हो, ग्लासगऊस्थित भूउपग्रह कम्पनी स्पायर । उक्त कम्पनीले समुद्री जहाज र मौसमका गतिविधि निगरानी गर्छ । न्युजिल्यान्डस्थित रकेट ल्याबले पनि साना भूउपग्रह प्रक्षेपण प्रणाली तयार गर्छ ।

हजारभन्दा बढी कम्पनी संलग्न

अन्य उद्योगको तुलनामा सानै सही, अन्तरिक्ष उद्यमको आकार तीव्र गतिमा बढिरहेको पाइन्छ । सन् २०११ मा अन्तरिक्ष उद्योगमा जम्माजम्मी सय कम्पनी संलग्न थिए । त्यसयता बढेर कम्पनीहरुको संख्या एक हजार नाघेको छ । तीमध्ये सात सय वटा निजी क्षेत्रका छन् ।

अमेरिकाका मात्र ७० भन्दा बढी निजी कम्पनी छन् । युरोपेली मुलुकमा अन्तरिक्ष कम्पनी अत्यधिक बढेका छन् । फ्लोरिडास्थित न्यु स्पेस ग्लोबलका सह-संस्थापक रिचार्ड रकेट भन्छन्, ‘यस क्षेत्रमा बर्सेनि ३० प्रतिशतको दरमा लगानी बढिरहेको छ ।’ उनका अनुसार त्यस्तो लगानी खाडी मुलुकका धनाढ्यहरुले बढाएको पाइन्छ ।

बोइङ र एयरबसजस्ता विमान कम्पनीको सेयर, अन्तरिक्ष र भूउपग्रह प्रविधिमा अनुसन्धान तथा विकासको काममा संलग्न कम्पनीहरुमा लगानी बढ्दो छ । त्यस्ता कम्पनीहरुलाई लगानीकर्ताले ‘भर्जिन समूह’को कोटीमा राखेका छन् ।

‘भर्जिन ग्यालेक्टिक स्पेस ट्राभल’, लगानीकर्ताले जुराएको नाम हो यो । र, उनीहरु दीर्घकालीन लगानीको खेलमा देखिन्छन् । रिचर्ड ब्रेनसनको स्वामित्वमा छ, भर्जिन ग्यालेक्टिक । उनको लक्ष्य पहिलो अन्तरिक्ष पर्यटन कम्पनी बन्ने हो ।

अन्तरिक्ष पर्यटनको माध्यमबाट एक पटक यात्राका लागि टिकटको अनुमानित लागत अढाइ लाख डलर हुन्छ । स्पेस-एक्सका मालिक हुन्, एलन मस्क । टसला कम्पनीका संस्थापक र पेपलका सह-संस्थापक पनि उनै हुन् । र, अन्तरिक्ष अनुसन्धानकर्ताहरुमा उनको स्थान मुख्य छ ।

‘फाल्कन हेभी’ उनकै निरन्तर साधनको उपज हो । पछिल्ला वर्षमा मस्कले मानिसलाई मंगल ग्रहमा पुर्‍याउने मिसन तयार पार्दै छन् । स्पेस-एक्सले त नासाले भन्दा आधा मूल्यमै रकेट र अन्तरिक्ष यान निर्माण गर्छ ।

उक्त कम्पनीले ८० प्रतिशत रकेटको ‘इनहाउस’ निर्माण गर्छ । जबकि, नासाले अरु नै कम्पनीबाट सामान खरिद गर्छ । शुरुवाती दिनमा स्पेस एक्सद्वारा निर्मित रकेट अन्तरिक्ष स्टेसनसम्म अत्यावश्यक सामान पुर्‍याउन मात्र प्रयोग हुन्थे । ‘फाल्कन हेभी’को सफलतापछि अब अन्तरिक्ष यात्री पठाउने तयारीमा लागेको छ, उक्त कम्पनी ।

हाम्रो समयका प्रख्यात वैज्ञानिक तथा खगोलशास्त्री प्राध्यापक स्टेफन हकिङले हाल सञ्चालन गरिरहेको अन्तरिक्ष अभियानमा पनि रुसी खर्बपति युरी मिल्नरको लगानी छ ।

तीन अर्ब प्रकास वर्ष टाढाको एक आकाशगंगाबाट आएका रहस्यमय १५ आवाजहरुको विश्लेषणमा लागेका छन्, हकिङ अहिले । उनको अभियानको लागत छ, १० करोड अमेरिकी डलर ।

लक्ष्य बन्दै अन्तरिक्ष पर्यटन

अमेरिकी वैज्ञानिकहरुका समूहले सञ्चालन गर्दै आएको छ, ‘मार्स वान’ मिसन । मानिसलाई मंगल ग्रहमा पुर्‍याउने मिसन हो त्यो ।

चार जनालाई मंगल ग्रहसम्म पुर्‍याउन ६ अर्ब डलर लाग्ने अनुमान छ ।

फ्लोरिडाका सेयर विश्लेषक तथा ‘रेमन्ड जेम्स एन्ड एसोसिएट्स’का क्रिस क्विल्टीको भनाइमा अहिले बर्सेनि सय वटा रकेट अन्तरिक्षमा पठाइने गरेको छ । चन्द्रमामा आधार शिविर नै राख्ने हो भने रकेटको संख्या अत्यधिक बढाउनु आवश्यक रहेको उनको भनाइ छ ।

लगानी र आम्दानीको दूरी

अन्तरिक्षमा भइरहेका प्रयोगहरुमा भूउपग्रह निर्माण मुख्य हो । सरकारी प्रयासमा अन्तरिक्षमा भूउपग्रह पठाइँदाको औसत खर्च एक अर्ब डलर थियो । तर, क्यालिफोर्नियाको कम्पनी स्काइबक्स इमेजिङले क्युबसेट नामक भूउपग्रह ५० लाख डलरमै बनाइदियो । उक्त कम्पनीलाई गुगलले जुलाई २००४ मा ५० करोड डलरमा खरिद गर्‍यो ।

कोवेनका अनुसार सानफ्रान्सिस्कोको प्लानेट ल्याबले भूउपग्रहलाई ५० हजार डलरमै विकस गर्दैछ । उक्त भूउपग्रहले अन्तरिक्षबाट पृथ्वीको तस्बिर लिन्छ । त्यस्ता भूउपग्रहका ग्राहक खेती, खनिज, जग्गा खरिद-बिक्री, तेल र प्राकृतिक ग्यासको क्षेत्रका कम्पनीहरु हुन्छन् ।

सस्तो रकेट निर्माणको कारोबार अलग्गै छ । आर्बिटल एटीकेजस्ता रकेट कम्पनीहरु त न्युयोर्क स्टक एक्स्चेन्जमै सूचीकृत छन् ।–एजेन्सीहरुको सहयोगमा

प्रतिकृया दिनुहोस