अनुगमन गर्न ‘जिसस’ भद्रपुर पुग्यो


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २६ 21:12:15

32116-20180209211216.jpg

भद्रपुर । स्थानीय सरकारलाई नमूना बनाउने झापाका जनप्रतिनिधिहरुले बताएका छन् । 

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुर बनाउने योजना बारे शुक्रबार एक कार्यक्रममा फेहरिस्त सुनाए । जिल्ला समन्वय समिति झापाले भद्रपुर नगरपालिकाको स्थलगत अनुगमनका क्रममा प्रमुख श्रेष्ठले नमूना स्थानीय सरकार बनाउने योजना सुनाएका हुन् ।

नागरिकको आर्थिक जीवनलाई सुधार गर्नेदेखि स्वास्थ्य सुरक्षासम्मका योजना सुनाएका प्रमुख श्रेष्ठले विकास निर्माणलाई रचनात्मक एवम् गुणस्तरीय बनाउने बताए । नागरिकलाई जनप्रतिनिधि आएको अनुभूत गराउन समय सुहाउँदो कार्यक्रम सञ्चालन गर्ने उनले सुनाए ।

स्थानीय तह अनुगमन कार्यक्रम अन्र्तगत समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको नेतृत्व टोलीले अनुगमन गरेको हो । अनुगमनको क्रममा समितिले ७ वटा प्रमुख सूचक निर्धारण गरी नगरमा निर्वाचित नेतृत्वले नगर प्रशासन संम्हाले यता भए गरेका कामहरु बारेमा जानकारी लिइएको थियो । 

संघीय अधिकार अनुसार हुनुपर्ने काम भए नभएको, काम गर्न सहजता वा अप्ठेरो जस्ता पक्षमा नगरका कार्यपालिकामा रहेका प्रतिनिधिहरुसँग सवाल जवाफसमेत गरिएको थियो । 

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले नगरपालिकाका हालसम्मका प्रमुख कार्य तथा गतिविधिहरु प्रस्तुत गरे । वडाध्यक्षको तर्फबाट ५ नम्वरका वडाध्यक्ष बन्धु कार्कीले सघन शहरी विकास अन्र्तगत भइरहेको सडक विस्तारका कामहरुको गुणस्तर मापन गर्न नगरपालिकाको ल्याव नरहेको फाइदा उठाउँदै निर्माण ठेकेदारले गुणस्तरहीन काम गरिरहेकोमा चिन्ता व्यक्त गरे । उनले जिल्ला समन्वय समितिले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

 कार्यक्रममा उपप्रमुख चन्द्रमाया श्रेष्ठले कानुन शाखा नरहेकोले न्यायिक कार्य सम्पादनमा समस्या रहेको गुनासो गरिन् । यस्तै नगरप्रमुख श्रेष्ठले सबल भद्रपुर नगर निर्माण गर्न व्यापक स्रोत परिचालन गरेर अधिकतम उपलब्धिमा जाने योजना रहेको बताए । नमूना नगरका आधारभूत कामको आवश्यकता नै पहिलो प्राथमिकतामा राखेको उनले प्रष्ट पारे ।

जिल्ला समन्वय अधिकारी खेमराज ओझाले कर्मचारीको नेतृत्वबाट राजनीतिज्ञको जिम्मामा आएको स्थानीय तह समृद्ध बन्न सपना पाल्ने नेतृत्वको आवश्यकता रहेको बताए । 

जिल्ला समन्वय समितिका प्रमुख पोर्तेलले नमूना स्थानीय तहका लागि जुट्न आग्रह गर्दै त्यसैका लागि समन्वय समतिले स्थानीय सरकार सञ्चालनका लागि अनुगमन एवम् सहजीकरण अभियान नै थालेको बताए । 

प्रतिकृया दिनुहोस