पूर्वीय संस्कृतिमा आधारित चलचित्र बैना निर्माण हुने


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २६ 20:13:05

32111-20180209201305.jpg

झापा । नेपालको पूर्वीय संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘बैना’ निर्माण हुने भएको छ । झापाली निर्देशक दिलप्रकाश याक्सो ‘टाइगर’ को निर्देशनमा निर्माण हुने चलचित्रमा राजकुमार लिङदेन ‘राजु’ को प्रस्तुती रहने छ ।

६० लाख रुपैंयाको लागतमा निर्माण गरिने सो चलचित्र फागुनको अन्तिम साताबाट छायाङकन शुरु गरिने निर्देशक याक्सोले बताए ।  झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्थुममा छायाङ्कन गरिने चलचित्रमा मौलिक पहिचानलाई समेट्दै प्रेम कथानक चलचित्र बनाउने अर्का निर्माता धनराज याक्सोले जानकारी दिए ।

चलचित्रको निर्माण नियन्त्रकमा कुमार सिलवाल, छायांकन बिक्रम डिसी, कथा, बिजय केरुङ र संगीत बिकास चौधरीको रहने छ । त्यस्तै द्वन्द्व निर्देशकको रुपमा राजु किराँती रहेका छन् । नेपाली लोक संस्कृतिमा आधारित संगित रहेको चलचित्रमा राजेश पायल राई, मेलिना राई, सुमन थाम्सुहाङ, सिमरन र राजकुमार लिङदेनको स्वर रहने छ ।लिङदेन फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुतीका रुपमा बैना चलचित्र निर्माण हुन लागेको हो ।

चलचित्रमा सुवास मेचे, रमा लिम्बु, उदय सुब्बा, भुपेन्द्र लिङदेन, राजकुमार लिङदेन, पर्वत राई लगायतको अभिनय रहने निर्माण पक्षले जनाएको छ । चलचित्रको कथामा संस्कृतिसँगै हास्य बिधालाई समेत समेटिएको छ । हालसम्म निर्माण भएका नेपाली चलचित्रभन्दा फरक धारमा निर्माण गरिने भएकाले चलचित्र निर्माण सम्पन्न भएपछि दर्शकले मन पराउने अपेक्षा निर्माण पक्षको छ ।

 

प्रतिकृया दिनुहोस