विश्‍व क्रिकेट लिग 'डिभिजन टू'मा आज नेपालले नामिबियाविरुद्ध खेल्ने


अनलाइन, प्रकाशित मिति : २०७४ ,माघ , २५ 07:17:54

32075-20180208071754.jpg

काठमाडौं । विश्‍व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत नेपालले बिहीबार पहिलो खेल आयोजक नामिबियाविरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ। पछिल्लो १० वर्षमा नेपालले नामिबियाविरुद्ध खेलेका तीनवटै खेलमा जित निकालेको छ।

नेपालले सन् २०१५ मा भएको डिभिजन टूमा तीन विकेटले, सन् २०१६ मा विश्‍व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतका दुई खेलमा ५ विकेट र ३ विकेटले नामिबियालाई पराजित गरेको थियो। प्रतियोगितामा आईसीसी डिभिजन थ्रीबाट बढुवा भएर आएका क्यानडा र ओमन तथा नेपालसँगै आइसीसी वल्ड क्रिकेट लिग च्याम्यनसिपबाट घटुवा भएर आएका केन्या, संयुक्त अरब इमिरेट्स र नामिबिया खेल्नेछन्।

शीर्ष दुईमा रहन सफल हुने टोली बढुवा भएर आइसीसी क्रिकेट वल्डकप क्वालिफायरमा सहभागी हुन पाउने छन्। डिभिजन टूमा पुछारमा हुने दुई टोली घटुवा भएर डिभिजन थ्रीमा पुग्नेछन्। बीचमा हुने दुई टोलीले डिभिजन टूमा स्थान बनाउनेछन्। नेपालले शुक्रबार ओमनसँग, ११ तारेखमा संयुक्त अरब इमिरेट्ससँग, १२ तारेखमा केन्या र १४ तारेखमा लिगको अन्तिम खेल क्यानडासँग खेल्नेछ।

लिग चरणका खेलबाट शीर्ष दुईमा परेमा नेपाल विश्‍वकप क्रिकेट छनोटमा सहभागी हुन पाउनेछ। अर्को महिना अर्थात मार्च ४ देखि २५ सम्म जिम्बाब्बेमा हुने विश्‍वकप छनोटमा १० टोली सहभागी हुनेछन्। १० टोलीबाट पनि शीर्ष दुईमा पर्ने टोली अर्को वर्ष अर्थात सन् २०१९ को मे ३० देखि इ‌ंग्ल्याण्ड र वेल्समा आयोजना हुने एकदिवसीय विश्‍वकप क्रिकेटमा सहभागी हुनेछन्। एकदिवसीय विश्‍वकप खेल्ने नेपालको चाहना अहिलेसम्म पूरा हुन सकेको छैन। ट्वेन्टी ट्वेन्टी विश्‍वकपमा सहभागिता नेपालको अहिलेसम्मकै ठूलो उपलब्धि हो।

प्रतिकृया दिनुहोस