बाहुनडाँगीमा आजदेखि कृषि तथा पर्यटन महोत्सव सुरु


प्रतिक न्यौपाने, प्रकाशित मिति : २०७४ ,माघ , २३ 19:54:19

32039-20180206195419.jpg

बाहुनडाँगी (झापा) । कृषि जन्य उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा सहजताका लागि सहयोग पुर्याउने उद्देश्यले मेचीनगर नगरपालिका वडा नं. १ गाडागल्लीमा आजदेखि कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ । 

बौद्धमोड कृषि सहकारी संस्थाको आयोजना र मेचीनगर मूल कृषक समूहको मुख्य आयोजनामा पूर्वाञ्चल क्षेत्रीय कृषि तथा पर्यटन महोत्सव सुरु भएको हो ।

‘लगाऔं तरकारी, फलफूल, अन्नबाली, अपनाई सबैले आधुनिक कृषि प्रणाली’ भन्ने मूल नाराका साथ सुरु भई बिहीबार समापन हुने महोत्सवको साझेदार संस्थाहरुमा नेपाल सरकार कृषि विकास मन्त्रालय, कृषि विभाग, कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालय, कृषि विकास कार्यक्रम हरिहरभवन ललितपुर छ ।

अन्य साझेदार संस्थाहरुमा जिल्ला समन्वय समिति झापा, मेचीनगर नगरपालिका, नगरपालिका अन्र्तगतको कृषि शाखा, मेचीनगर वडा नम्बर १ र २, मेची उद्योग वाणिज्य संघ र सामुदायिक वन उपभोक्ता महासंघ झापा छन् ।

महोत्सवमा प्राङ्गारिक मल, कृषि उपज एवम् आधुनिक कृषि औजारहरु, कृषिजन्य उत्पादनबाट बनाइने खाजाका परम्परागत परिकारहरु, अन्न, फलफूल, तेलहन, दलहन, पुष्प, कोसेबाली लगायतका ३० वटा प्रदर्शनी स्टल राखिएको छ ।

जातीय पहिचान झल्काउने विविध सांस्कृतिक झाँकी प्रस्तुत हुने महोत्सवमा कृषिजन्य बाली तथा पशुपंक्षीको उपचार शिविर सञ्चालन गरिनेछ भने विषादी न्यूनीकरण सम्बन्धी चेतनामूलक नाटक देखाइने आयोजकले जनाएको छ ।

कृषिजन्य उत्पादनमा विषादी एवम् रसायनिक मललाई विस्थापन गरी प्राङ्गारिक मल प्रयोग गर्न कृषहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले महोत्सव गरिएको समूहका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक पूर्णबहादुर खड्काले बताए ।

उनका अनुसार परम्परागत तथा निर्वाहमुखी खेती प्रणालीबाट माथि उठेर कृषिमा आधुनिकीकरण एवम् व्यवसायिकीकरणतर्फ कृषकहरुलाई प्रोत्साहन गर्न आयोजित महोत्सवमा कृषि पेशामा सक्रिय तथा उत्कृष्ट तीनजना कृषक र उत्कृष्ट स्टललाई सम्मान एवम् पुरस्कृत गरिने छ ।

माघ २६ गते सम्पन्न हुने गरी सुरु गरिएको महोत्सव आज झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै सांसद कार्कीले सरकारले कृषकद्वारा उत्पादित कृषिजन्य वस्तुको न्यूनतम मूल्य निर्धारण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कृष्ण आधारभूत विद्यालयको प्राङ्गणमा सुरु भएको तीन दिने महोत्सव उद्घाटन पछि बोल्दै सांसद कार्कीले ‘त्यसो गर्न नसक्ने हो भने सरकार आफैंले खरिद गर्नुपर्छ’ भनेका छन । उनले जमिनको वर्गीकरण गर्न जरुरी रहेको बताए ।

कृषि पेशा व्यवस्थित नभएकै कारण पौरखी युवा विदेशी भूमिमा श्रम, पसिना बगाउन बाध्य भएको चर्चा गर्दै सांसद कार्कीले कृषिलाई समय सापेक्ष परिवर्तन गरी उद्योगको रुपमा विकास गर्न आवश्यक रहेको धारणा राखे ।

महोत्सव उद्घाटनका अवसरमा विशिष्ट अतिथि प्रदेशसभाका सांसद् श्रीप्रसाद मैनाली, विशेष अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, मेचीनगर वडा नम्बर १ का अध्यक्ष पासाङ तामाङ, वडा नम्बर २ का अध्यक्ष तिलक न्यौपानेलगायतले कृषि महोत्सवबारे आफ्ना धारणा राखे ।

कार्यक्रम व्यवस्थापन उप समितिका संयोजक लोकबहादुर रिसालले महोत्सवको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन समूहका सचिव कञ्चन तामाङ, स्वागत सदस्य गौरा तामाङ र अध्यक्षता महोत्सव आयोजक मूल समिति संयोजक पूर्णबहादुर खड्काले गरेका थिए ।

प्रतिकृया दिनुहोस