जिसस झापाले थाल्यो पालिकाको अनुगमन


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २१ 17:50:51

31995-20180204175051.jpg

केरखा । जिल्ला समन्वय समिति झापाले आजबाट स्थानीय तहको अनुगमन सुरु गरेको छ । कमल गाउँपालिका र दमक नगरपालिकाबाट जिससले अनुगमन सुरु गरेको हो । 

माघ २९ गतेसम्म सञ्चालन गरिने अनुगमनमा जिल्लाका १५ वटै पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई महत्वपूर्ण सूचकका बारेमा जानकारी गराउने जनाइएको छ ।

अनुगमनका सूचकहरु गाउँ–नगरसभा सम्पन्न मिति, सभाबाट पारित प्रस्तावित ऐन, नियम, निर्देशिका, जनशक्ति व्यवस्थापन, अचल सम्पत्तिको व्यवस्थापन, सभाबाट पारित तथा प्रस्तावित आवधिक योजनाका बारेमा कसरी तथ्याङ्क व्यवस्थापन गर्ने भन्नेबारेमा अभिमुखीकरण गरिने छ ।

कमल गाउँपालिकामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति झापाका सिनियर प्रोग्राम अफिसर जय तिम्सिनाले पालिकाको स्रोत परिचालन, सुशासन, अध्ययन अनुसन्धानलगायतका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका  प्रमुख सोमनाथ पोर्तेलले यो एउटा नमूना अनुगमनमात्र भएकोले यसलाई गाउँ तथा नगरको आवश्यकताअनुसार थपघट गर्न सक्ने बताए ।

सो अवसरमा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष वेणु सिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले समन्वय समितिलाई गाउँपालिकाले गरेको कामका बारेमा जानकारी गराएका थिए ।
 
जिल्ला समन्वय समिति झापाका उपप्रमुख मिना पराजुली, सदस्य सुशिला दाहाल, स्थानीय विकास अधिकारी खेमराज ओझा, वरिष्ठ कार्यक्रम अधिकृत प्रकाश चौधरीलगायतको टोलीले अनुगमन गरेको हो । 

प्रतिकृया दिनुहोस