कहाँकहाँ रहन्छन् प्रदेश १ का सात मन्त्रालय ?


अनलाइन, प्रकाशित मिति : २०७४ ,माघ , २० 17:12:22

31970-20180203171222.jpg

विराटनगर । प्रदेश १ मा प्रदेशसभाको पहिलो बैठकसँगै मन्त्रालयहरु स्थापनाको गृहकार्य सुरु भएको छ । प्रदेशसभाको बैठक २२ गते बोलाइएको छ ।

साथै प्रदेश सरकार सञ्चालनका लागि आवश्य पर्नेहरु भवनहरुको टुंगो लगाइएको छ । आइतबार नै केही मन्त्रालय स्थापना गरिनेछ भने प्रदेशसभा बैठक बस्ने जिल्ला समन्वय समितिको भवनमै सभामुख र उपसभामुखको कार्यालय राखिनेछ ।

कहाँकहाँ रहन्छन् मन्त्रालय ?

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार सुरुमा सात वटा मन्त्रालय स्थापना गरिनेछ ।

मुख्यमन्त्री एव मन्त्रिपरिषदको कार्यालय क्षेत्रीय कृषि निर्देशनालयको भवनमा राखिनेछ । यस्तै सुनसरी-मोरङ सिँचाइ आयोजनाको कार्यालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रणको कार्यालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र घरेलु तथा साना उद्योगको कार्यालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय राखिनेछ ।

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा सामाजिक विकास मन्त्रालय, क्षेत्रीय वन निर्देशनालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र क्षेत्रीय पशु सेवा कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहनेछ ।
सात मन्त्रालयका लागि १ सय ७७ कर्मचारी

मन्त्रालयहरुका लागि १ सय ७७ कर्मचारी खटाइएको छ, जसमा सवै भन्दा वढी कर्मचारी आन्तिरिक मामिला तथा कानुन मन्त्रालयमा ४१ कर्मचारी रहने छन् । यो मन्त्रालय वढी कर्मचारी रहने मन्त्रालय हो । उद्योगमा २९ कर्मचारी रहनेछन् भने भौतिक पूर्वाधारमा २४, आर्थिक मामिलामा १२, भूमि व्यवस्थामा २९ र सामाजिक विकास मन्त्रालयमा ३० कर्मचारी रहनेछन् ।

मयार्दापालकलाई ड्रेस कोड

प्रदेशको पहिलो अधिवेशनका लागि मर्यादापालकलाई ड्रेस कोडको व्यवस्था गरिएको छ ।

पुरुषले सेतो दौरा-सुरुवाल, कालो कोट र भादगाउँले टोपी लगाउनेछन् भने महिला मर्यादापालकले रातो पारी भएको सेतो सारी, कलेजी रङको चोलो र कालो कोट लगाउनेछन् । प्रदेशसभामा महिला र पुरुष गरेर २४ जना मर्यादापालक रहनेछन् ।

प्रदेशसभाको हलमा १४ जिल्लाको पहिचान झल्कने दुईदुई फिटका फोटो राखिने भएको छ । प्रदेशसभामा पहिलो बैठकको अवसरमा प्रदेश १ का सांसद, पूर्व सभामुख, पूर्वउपसभामुख, पूर्वमन्त्रीहरू, पूर्वसांसद, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखलगायतलाई आमान्त्रित गरिने भएको छ ।

प्रतिकृया दिनुहोस