‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ विषयक वक्तृत्वकला


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , १९ 17:58:48

बिर्तामोड । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था शिक्षक साकोस झापाले सहिद सप्ताहका अवसरमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगितसहित सहिद सप्ताह शुक्रबार सम्पन्न गरेको छ । 

माघ १२ गते झापाका १५ वटा स्थानीय तहका माविबाट छनौट गरी प्रतियोगिताको फाइनल शुक्रबार सम्पन्न गरेको संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमले बताए । 

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ विषयक वक्तृत्वकला प्रतियोगितामा मेरिगोल्ड आवासीय मावि झापाका वेदान्त तिम्सिना प्रथम, कमल आश्रित मावि कमल गाउँपालिकाका अर्जुन घिमिरे दोस्रो र बीरेन्द्र मावि चन्द्रगढीकी निशा लामिछाने तेस्रो भइन् । 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, डिभिजन सहकारी कार्यालय झापाका सहकारी अधिकृत दुर्गाप्रसाद न्यौपानेलगायतले प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना हुने विद्यार्थीहरुलाई क्रमशः २ हजार ५००, २ हजार, १ हजार ५०० र १ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरे । 

बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी प्रत्येक विद्यालयलाई प्रमाणपत्र र विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष हरिप्रसाद न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा नरेन्द्र पन्तले गीत तथा कविहरुले आ–आफ्नो लेख रचना प्रस्तुत गरेका थिए । 

प्रमुख अतिथि पोर्तेल, डिभिजन सहकारी कार्यालय झापाका सहकारी अधिकृत न्यौपाने, देवी माविका विद्यालय व्यवस्थापन समितका अध्यक्ष ज्ञानुराम प्रसाईं, विद्यालयका प्रधानाध्यापक अम्बिका श्रेष्ठलगायतले बोलेका थिए । 

सदस्य दिपक शिवाकोटीले स्वागत गरेको कार्यक्रममा झापाका १५ वटा स्थानीय तहका ३० जनाले सहभागिता जनाएका थिए । 

प्रतिकृया दिनुहोस