बिर्तामोडमा अलैंची वेयर हाउस बनाइँदै 


रोसन भट्टराई, प्रकाशित मिति : २०७४ ,माघ , १७ 20:30:33

31892-20180131203033.jpg

बिर्तामोड । नेपाल सरकार कृषि वस्तु निर्यात प्रवद्र्धन कार्यक्रम हरिहरभवन ललितपुरका अधिकारीहरुले अलैंचीको वेयर हाउस निर्माणस्थलको आज स्थलगत अवलोकन गरेका छन् । 

कार्यक्रम र नेपाल अलैंची व्यवसायी महासंघ केन्द्रीय कार्यसमिति बीच वेयर हाउस निर्माण सम्बन्धी सम्झौता भएको छ । बिर्तामोडमा निर्माण भइरहेको वेयर हाउसको कृषि वस्तु निर्यात प्रवद्र्धन कार्यक्रमका वरिष्ठ कृषि अर्थविज्ञ शंकरप्रसाद शाह, गोपाल शर्मा लामिछाने, श्यामराज मिश्रलगायतको टोलीले स्थलगत अध्ययन गरेको हो ।

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, महासचिव ओमकृष्ण विमली र वेयर हाउस निर्माण समितिका संयोजक सुवास भट्टराईलगायत पदाधिकारीहरुले निर्माण कार्यको प्रगतिका बारेमा टोलीलाई अवगत गराएका थिए । 
 
कृषि वस्तु निर्यात प्रवद्र्धन कार्यक्रम र अलैंची व्यवसायी महासंघबीच अलैंची वेयर हाउस पूर्वाधार निमार्णका लागि ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत गत कात्तिक २८ गते सम्झौता भएको थियो । दुवै पक्षबाट चालू आर्थिक वर्षमा ५५–५५ लाख गरी एक करोड १० लाख रुपैयाँ बराबरको लगानीमा वेयर हाउस निर्माण गरिँदै आएको समितिका सचिव अनिल ढुंगानाले जानकारी दिए ।
 
अनुमानित तीन करोड रुपैयाँको लागतमा बिर्तामोडमा निर्माणाधिन अलैंची वेयर हाउसको काम ५ वर्षभित्र सम्पन्न हुने लक्ष्य रहेको जनाइएको छ । निजी क्षेत्रको प्रत्यक्ष सहभागितामा पहिलो पटक नेपालमा अलैंचीको वेयर हाउस निर्माण हुन लागेको हो । यसबाट अलैंचीका व्यवसायी तथा कृषकहरुलाई प्रत्यक्ष लाभ मिल्ने अनुमान लगाउन सकिन्छ । 

प्रतिकृया दिनुहोस