कृषिमा व्यवसायिकीकरणले आयात घट्यो 


लक्ष्मी उप्रेती , प्रकाशित मिति : २०७४ ,माघ , १७ 13:51:24

31885-20180131135124.jpg

मेचीनगर । दिन प्रतिदिन व्यवसायिक बाख्रा तथा अन्य पशुपालनमा मानिसको आकर्षण बढेसँगै पूर्वीनाका काँकरभिट्टाबाट हुने पशुको निर्यातमा समेत बृद्धि हुन थालेको छ । 

जिल्ला पशु सेवा कार्यालय झापाका अनुसार सरकारले व्यवसायिक पशुपालनका लागि अनुदान तथा बैंकमा ऋणका लागि पहल गरिदिने गर्दछ । कार्यालय प्रमुख डाक्टर माधव दाहालका अनुसार सरकारले पशुपालनका निम्ति ७० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । ३० प्रतिशत स्वयम् कृषकले लगानी गर्ने व्यवस्था छ । सरकारले विशेषगरी उत्पादनमा बजारीकरणमा या खोर बनाउन र घाँस उत्पादनमा कृषकलाई सहयोग गर्ने गरेको छ  । 

चालू आर्थिक वर्ष २०७४/२०७५ को पहिलो ६ महिनाको अवधिमा पूर्वीनाका हुँदै ४ हजार २५९ वटा गोरु निर्यात भएका छन् । पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार गतवर्षको सोही अवधिको तुलनामा गोरुको निर्यात १४ प्रतिशतले बढेको हो । गतवर्षको पहिलो ६ महिनामा ३ हजार ६५५ वटा गोरु निर्यात भएको कार्यालय प्रमुख लक्ष्मण चौधरीले बताए । 

यसैगरी बाख्राको निर्यात ७० प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्ष २०७३/७४ को पहिलो ६ महिनामा ३६३ वटा बाख्रा काँकरभिट्टा नाका भएर निर्यात भएकोमा चालू आर्थिक वर्ष  २०७४/७५ को पहिलो ६ महिनाको अवधिमा १ हजार २२६ वटा बाख्रा निर्यात भएको चौधरीले बताए । 

तर, भारतले नेपालको बंगुर आयातमा रोक लगाएपछि निर्यात ओरालो लागेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ८७८ वटा सुँगुर र बंगुर निर्यात भए पनि अहिले त्यो घटेर ५९ प्रतिशत कम सुँगुर र बंगुर निर्यात भएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ३६० वटा मात्र निर्यात भएको देखिन्छ । 

आफ्नै उत्पादन प्रोत्साहन गर्न भारतले नेपाली बंगुरको आयातमा रोक लगाएको हो । व्यवसायीका अनुसार नेपाली बंगुरको निर्यात ठप्प छ । भारत र भूटान निर्यात हुँदै आएको बंगुर निकासीमा रोक लागेपछि नेपाली उत्पादनले ५० प्रतिशतभन्दा ठूलो बजार गुमेको छ ।

यसैगरी राँगा भैंसीको निर्यात पनि सन्तोषजनक छैन । यो नाका हुँदै राँगा भैंसीको निर्यात गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ५६ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्ष २०७३/७४ को पहिलो ६ महिनामा ३७५ वटा राँगा भैंसी निर्यात भएकोमा अहिले त्यो संख्या घटेर चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनाको अवधिमा १६५ मा आएको कार्यालयको तथ्याङ्कले देखाएको छ । 

उता, सरकारले व्यवसायिक माछा पालनका लागि रकम अनुदान दिन थाले पछि व्यवसायिक माछा पालनतर्फ किसानको आकर्षण बढेको छ । पर्याप्तरुपमा स्वदेशमै माछा उत्पादन हुन थालेपछि भारतीय माछाको आयातमा समेत कमी आएको छ । किसानले व्यवसायिक माछा पालन शुरु गरे सरकारले पोखरी खन्नका लागि प्रति हेक्टर ३ लाख रुपैयाँ अनुदान दिने गरेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । 

पूर्वी नाकाबाट अहिले माछाको आयात घट्दै गएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनाको अवधिमा पूर्वीनाका हुँदै ६७३ दशमलव ३१ मेट्रिक टन खाने माछा आयात भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७३/७४ को सोही अवधिको तुलनामा आयात ८ प्रतिशतले घटेको कार्यालय प्रमुख चौधरीले जानकारी दिए । 

अघिल्लो वर्षको ६ महिनामा ७६४ दशमलव ६६ मेट्रिक टन खाने माछा आयात भएको थियो । नेपाल सरकारले व्यवसायिक रुपमा माछा पालनका किसानलाई पोखरी खन्नका लागि रकम अनुदान दिएका कारण व्यवसायिक माछा पालनमा कृषकको आकर्षण बढेको उनको भनाई छ । 

माछाको भुराको आयातमा समेत ६७ दशमलव २ प्रतिशतले कमी आएको कार्यालयका सूचना अधिकृत पशु चिकित्सक मुकेशकुमार सिंहले बताए । उनका अनुसार सिद्रा माछा १० दशमलव १७ प्रतिशतले आयात घटेको छ ।

आर्थिक वर्ष २०७१/७२ मा यो नाका हुँदै २ हजार १०८ दशमलव ६६ मेट्रिक टन र आर्थिक वर्ष २०७३/७४ मा १ हजार ६७४ दशमलव ९८८ मेट्रिक टन खाने माछा आयात भएको थियो 

आर्थिक वर्ष २०७२/७३ को तुलनामा ३ दशमलव ५१ प्रतिशतले आयात घटेको कार्यालय प्रमुख पशु चिकित्सक मुकेशकुमार सिंहले बताए । आर्थिक वर्ष २०७२/७३ मा १ हजार ७३६ मेट्रिक टन खाने माछा आयात भएको थियो । 
 

प्रतिकृया दिनुहोस