चिया निर्यातको अंक ओरालोमा 


हरिप्रसाद कोइराला, प्रकाशित मिति : २०७४ ,माघ , १३ 10:53:21

31777-20180127105321.jpg

विराटनगर । नेपालबाट भारत र समुन्द्रपारि जाने कृषि उत्पादनको निर्यात पछिल्लो चार वर्षयता लगातार ओरालो लागेको छ । 

निर्यातको ठूलो हिस्सा ओगटेको चियाजन्य उत्पादनको निर्यातसमेत घट्दै जाँदा व्यापार घाटासमेत बढेको छ । आव ०७०/७१ सम्म चिया व्यापारले कूल निर्यातको २५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आव २०७०/७१ मा नेपालबाट कूल ३७ अर्ब ४९ करोड ३२ लाख ५० हजार ९९४ रुपैयाँको सामग्री तथा वस्तु निर्यात भएको थियो । 

त्यस्तै आव २०७१/७२ मा साडे चार अर्ब रुपैयाँको निर्यात घटेको कार्यालयले जनाएको छ । २०७१/०७२ मा ३३ अर्ब २८ करोड ६६ लाख ३६ हजार ९५७ रुपैयाँ बराबरको सामग्री तथा वस्तु भारत तथा समुद्रपार निकासी भएको देखिन्छ । आव २०७२/०७३ को निर्यात झनै कमी छ । उक्त आवमा २०७१/७२ को तुलनामा साडे सात अर्बले कम निर्यात भएको छ भने २०७०/७१ को तुलनामा ११ अर्बले कमी भएको छ । 

कार्यालयले दिएको तथ्याङ्क अनुसार २०७२/७३ मा २६ अर्ब ७६ करोड ५७ लाख ८६ हजार ८७३ रुपैयाँको मात्र निर्यात भएको छ ।  गत आर्थिक वर्ष ०७३/०७४ मा २६ अर्ब २९ करोड ७० लाख ५४ हजार २५९ रुपैयाँको निर्यात व्यापार भएको कार्यालय प्रमुख कृष्ण रेग्मीले बताए । यो निर्यात अघिल्लो वर्षको तुलनामा ३७ करोडले कमी हो । 

नेपालबाट भारत र तेस्रो देश निकासी हुने सामग्री तथा वस्तुमा चियाजन्य वस्तुले ठूलो हिस्सा ओगटेको छ । २०७२/७३ मा कूल २६ अर्ब ७६ करोड ५७ लाख ८६ हजार ८७३ रुपैयाँको मात्र निर्यात भएकोमा चियाजन्य वस्तुमात्र सात अर्ब १८ करोड ६१ लाख २१ हजार १८२ रुपैयाँको निर्यात भएको थियो । 

यो निर्यात भएको कूल रुपैयाँको २५ प्रतिशतभन्दा बढी हिस्सा हो तर गत आव २०७३/७४ मा ग्रीन टी, कालो चिया, तेजपात, चिया मसला र कफीको निर्यातसमेत एक अर्बभन्दा बढीले कमी छ । 

गत आवमा छ अर्ब २७ करोड १४ लाख २३ हजार ४०० रुपैयाँको चियाजन्य उत्पादन निर्यात भएको थियो । यस्तै आव २०७०/७१ मा चियाको मात्र पाँच अर्ब ९९ करोड १६ लाख ५९ हजार ७१३ रुपैयाँको निर्यात व्यापार भएको थियो । उक्त रकम कूल निर्यात व्यापारको २० प्रतिशतभन्दा कमी हो । 

अझ चियाजन्य उत्पादनको आयात हरेक वर्ष बढिरहेको रेग्मीको भनाइ छ । उनका अनुसार आव २०७०/७१ मा ३७ करोड ५१ लाख ९२७ रुपैयाँको चियाजन्य उत्पादन आयात गरेको पूर्वाञ्चलले चार वर्षपछि अर्थात् गत आवमा एक अर्ब १२ करोड ५२ लाख ४९ हजार ६६८ रुपैयाँको चिया आयात गरेको छ । यो आयात चार वर्षअघिको तुलनामा तेब्बर हो । 

उनले भने, चार वर्षअघि ३७ करोड ५१ लाखको आयात गर्दा छ अर्ब ३२ करोडको निर्यात व्यापार थियो । गत आवमा छ अर्ब २७ करोडको निर्यात गर्दा आयात एक अर्ब १२ करोडको भइसकेको छ । 

प्रतिकृया दिनुहोस