सडकमा अदुवा थुपार्दै किसान 


दीपक कट्टेल, प्रकाशित मिति : २०७४ ,माघ , १३ 10:40:49

31776-20180127104049.jpg

तेह्रथुम । भारत निकासीमा समस्या आएपछि करोडौँ रुपैयाँको अदुवा सदरमुकामको म्याङलुङ बसपार्क नजिकै सडकमै राखिएको छ । यहाँका व्यापारीले सङ्कलन गरेको अदुवा निकासी ठप्प भएपछि गोदाममा र किसानको बारीमै थन्किएको हो । 

जिल्लाका गाउँगाउँबाट सङ्कलित अदुवा व्यापारीले अटेसम्म गोदाममा राख्ने गरेका छन् भने नअटेको सडक पेटीमै थन्काएका छन् । निकासी ठप्प भएपछि जिल्लाबाट समेत अदुवा लिएर जान नपाएको व्यापारी अमृत निङ्लेकुले गुनासो गरे । आफूसँग भएका सबै गोदाम भरिएर बाँकी रहेको अदुवा सडकमै भए पनि थुपारेर राख्नु परेको उनले बताए ।
 
व्यापारीले काँटा गर्न आउने भनेपछि किसानले खनेर तयार पारेका अदुवाका बोरा गाउँगाउँमा बनेका कृषि सडकका किनारामा निकालिएको छ तर अदुवाको बिक्री घटेपछि व्यापारी नआउने पो हुन् कि भन्ने चिन्तामा कृषक देखिन्छन् । 

बारीबाट खनेपछि अदुवा बिग्रने भएकाले किसानलाई थप चिन्ताले सताएको छ भने व्यापारी पनि लगानी डुब्ने डरले पिरोलिएका छन् । खनेर निकालेपछि धेरै दिन राख्दा अदुवाको तौल पनि घट्ने र मूल्य पनि घट्ने किसानलाई चिन्ता छ । यसरी धेरै समय खुला ठाउँमा भण्डारण गरेर राख्नु पर्दा करिब १० प्रतिशत तौल कम हुने व्यापारी बताउँछन् । 

निकासी ठप्प हुँदा जिल्लामा करोडौंको अदुवा गोदाममै थन्किएर रहेको छ । त्यसैगरी भण्डारणका लागि उपयुक्त स्थान नहुँदा किसानबाट किनेको अदुवा सडक पेटीमा थुपार्नु पर्दा दैनिक हजारौँ घाटा रहेको व्यापारीले गुनासो गरेका छन् । बजार क्षेत्रमा अदुवाका बोरा काटेर अदुवा चोरीसमेत हुने गरेको छ । 

गाउँमा भने अदुवाका बोरा खुला ठाउँमा राखेपछि चोरीको पीडा खेप्नु परेको छैन । बसपार्क नजिकै थुपारिएको करोडौँको अदुवाबाट दैनिक दुई चार केजी बढी अदुवा नास भएर गइरहेको व्यापारीले बताएका छन् । गाउँमा अहिले अदुवा प्रतिकेजी १६ देखि १८ रुपैयाँका दरले कारोबार भइरहेको छ । 

बर्सेनि अदुवाको मूल्य र बजारमा समस्या देखिन थालेपछि किसान यसप्रति निराश बन्दै गएका छन् । किसानले अदुवा खेतीको विकल्पसमेत खोज्न थालेको बुझिएको छ । गत वर्ष जिल्लामा २६० हेक्टर क्षेत्रफलमा लगाइएको अदुवा खेतीबाट तीन हजार ९५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।

नेपालमा उत्पादित अदुवाको मुख्य बजार भारत रहेको छ । अदुवा किसानका मागलाई सरकारले सम्बोधन गर्न नचाहेका कारण यसको खेतीप्रति किसान निराश हुनु परेको अदुवा व्यवसायीको भनाइ छ । 

प्रतिकृया दिनुहोस